• २० चैत २०८१, बुधबार

सञ्चालक समिति सदस्यद्वय पोख्रेल र चौधरीलाई स्वागत

blog

सञ्चालक समिति सदस्यद्वय सुरथ पोख्रेल र लोकबहादुर चौधरी ‘लक्की’ लाई संस्थानमा स्वागत गर्नुहुँदै कार्यकारीअध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरी । तस्बिरः केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौँ, चैत १९ गते । गोरखापत्र संस्थानको सञ्चालक समितिमा मनोनयन हुनुभएका सञ्चालक सदस्यद्वय सुरथ पोख्रेल र लोकबहादुर चौधरी ‘लक्की’ लाई संस्थान पदाधिकारीले मंगलबार स्वागत गर्नुभएको छ ।

संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले संस्थानमा उहाँहरुलाई स्वागत गर्नुभएको हो । सञ्चालक समिति सदस्य पोख्रेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयको प्रतिनिधिको रुपमा मनोनयन गरेको हो । त्यस्तै, अर्का सदस्य चौधरीलाई मन्त्रीस्तरको निर्णयबाट चार वर्षका लागि सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो । 

मन्त्रालयका प्रतिनिधि पोख्रेल मन्त्रालयमा उपसचिवको जिम्मेवारीमा रहनुभएको छ । त्यस्तै, चौधरी गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादकको जिम्मेवारीमा रहनुभएको छ । 

सदस्यद्वयलाई स्वागत गर्दै कार्यकारी अध्यक्ष सुवेदीले संस्थान र कर्मचारीको हकहितका लागि सामूहिक निर्णय प्रणालीअनुसार काम गर्ने प्रतिवद्धता जनाउनुभयो । संस्थानलाई अझ प्रगतिको बाटोमा लग्न कर्मचारीको हकहितलाई केन्द्रमा राखेर काम गर्न नवनियुक्त सदस्यद्वयले भूमिका खेल्नुहुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा महाप्रबन्धक ऐरीले गोरखापत्र संस्थान सञ्चालक समितिको निर्णय अनुसार अघि बढ्ने भएकाले सबैको सामूहिक प्रयासका आधारमा आगामी दिनमा काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सदस्यद्वय पोख्रेल र चौधरीलाई चैत ७ गते सो पदका लागि मनोनयन  गरेको थियो ।  

यो पनि पढ्नुहोस