गोरखापत्र अनलाइन
काठमाडौँ, चैत ८ गते । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट दुई जनालाई बोर्ड सदस्यमा नियुक्त गरिएको हो ।
नवनियुक्त बोर्ड सदस्यमा सञ्चार मन्त्रालयका उपसचिव सुरथ पोखरेललाई संस्थान ऐन २०१९ दफा ८ को उपदफा (१) को खण्ड (ग) अनुसार चैत ७ गतेदेखि लागु हुनेगरी नियुक्त गरिएको हो ।
सोहीअनुसार गोरखापत्र अनलाइनका निमित्त सम्पादक लोकबहादुर चौधरी ‘लक्की’ बोर्ड सदस्यमा नियुक्त हुनुभएको छ । उहाँलाई संस्थान ऐन २०१९ को दफा ८ (१) को खण्ड (ङ) बमोजिम सो पदमा चार वर्षका लागि नियुक्त गरिएको हो ।
मन्त्रालयका सहसचिव कोशहरि निरौलाद्वारा हस्ताक्षरित पत्रअनुसार चैत ७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सो पदमा पोखरेल र चौधरीलाई नियुक्त गर्ने निर्णय गरिएको हो । मन्त्रालयका सहसचिव निरौलाले बोर्ड सदस्यद्वय पोखरेल र चौधरीलाई आज मन्त्रालयमा पत्र हस्तान्तरण गर्नुभयो ।
बोर्ड सदस्य पोखरेल रिसिङ गाउँपालिका–५, तनहुँ (हाल कलंकी) स्थायी निवासी हुनुहुन्छ । राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर गर्नुभएका पोखरेलले कानुनमा एलएलबी गर्नुभएको छ । नवनियुक्त सदस्य चौधरी धनगढी –५, कैलाली निवासी हुनुहुन्छ । समाजशास्त्र, राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका चौधरी पत्रकारितामा दर्शनाचार्य (एमफिल)मा अध्ययनरत हुनुहुन्छ । गोरखापत्र अनलाइनका निमित्त सम्पादक चौधरी विगत १६ वर्षदेखि गोरखापत्रमा आवद्ध हुनुहुन्छ ।