• २० चैत २०८१, बुधबार

सुख्खा नारायणस्थानमा लिफ्टिङ खानेपानी

blog

बागलुङ नगरपालिका १४ नारायणस्थानमा लिफ्ट आयोजनामार्फत घरआँगनको धारामा आएको पानी भर्दै महिला । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत १९ गते । लिफ्ट आयोजनाअन्तर्गत कालीगण्डकी नदी किनारको मुलमा रिर्जभ ट्याङकी बनाएर ७ सय मिटरमाथि र झण्डै १० किलोमीटरको दुरीमा तीन वटा ट्याङकी निर्माण गरेपछि बागलुङ नगरपालिका १४ नारायणस्थानका एक हजार बढी घरमा खानेपानीको सुविधा पुगेको छ । 

पानीको चरम अभावले शौचालय समेत प्रयोगमा नआउने नारायणस्थानमा अहिले घर घरमा खानेपानीको सुविधा पुगेपछि नागरिकले राहतको सास फेरेका छन् । "पहिले लेदोसहितको पानी आउने धारामा अहिले सफा र स्वस्थ पानी आउन थालेको छ," स्थानीय ध्रुव परियारले खुसी व्यक्त गर्दै भन्नुभयो, "खानेपानीले दैनिकी सहज हुनुका साथै पानीबाट निम्तने रोगको जोखिम समेत टरेको छ ।"

दुषित पानीका कारण झाडापखाला, आउँ र ज्वरोका बिरामी धेरै हुने नारायणस्थान अहिले प्रशस्त शुद्व पानी, बालमैत्री धारा र सफा देखिन थालेको छ । पानी प्रशस्त उपलब्ध हुन थालेपछि नारायणस्थानका घर घरमा तरकारी खेती गर्ने प्रचलन समेत बढेको छ । तत्कालिन नारायणस्थान गाविस बागलुङ नगरपालिकामा गाँभिएपछि स्थानीय जनप्रतिनिधिले गाउँमा खानेपानीको व्यवस्थापन गर्न पहल गरेका थिए । 

वडाध्यक्ष चक्रबहादुर खत्रीले सङ्घीय खानेपानी तथा ढल निकास विभागमा धाएर नारायणस्थान लिफ्ट खानेपानी योजना ल्याउन सफल भएपछि कुनै समय काकाकुल गाउँले चिनिने नारायणस्थानका घर घरका धारामा अहिले चाहिएको बेलामा पानी आउने स्थानीय जमुना श्रेष्ठ बताउनुहुन्छ । ‘एक घर एक धारा’ कार्यक्रमले गाउँका महिलाहरूको दैनिकी नै बद्लिएको छ," श्रेष्ठले भन्नुभयो, "घरघरमा प्रयोग भएको पानी जम्मा गरेर थोपा सिंचाइको कार्यक्रम पनि सुरु गरिएको छ।"

दस करोड ६२ लाख लगानीमा समपन्न भएको नारायणस्थान लिफ्ट खानेपानी आयोजनामा स्थानीयले १० प्रतिशत लगानी गरेका हुन् । यहाँका १ हजार २५ घरमा अहिले धारा बनिसकेको वडाध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिनुभयो । १ सय २५ एचपीको मोटरले कालीगण्डकी नदी किनारको मुहानबाट दैनिक पानी माथी तानेर नारायणस्थानमा पुर्‍याएको छ । तीन वटा ट्याङ्कीमार्फत दैनिक ७ लाख लिटर पानी जम्मा गरेर घरघरमा वितरण हुने गरेको छ । 

वडाध्यक्ष खत्रीका अनुसार, १५ हजारबढी लीटर पानी उपयोग गर्नेलाई १ सय ५० रुपियाँ शुल्क लिने गरिएको छ । शुल्कबाट कर्मचारीलाई तलबको व्यवस्थापन गर्नेदेखि कोष बनाउने काम भई रहेको छ । यो आयोजनाबाट छिमेकी वडा अर्माहा गाउँका १ सय ५० भन्दा बढी घर खानेपानीबाट लाभान्वित भएका छन् ।