राजन रावत
हुम्ला, चैत १९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाको गोदाममा खाद्यान्न मौज्दात सन्तोषजनक देखिएको छ । अघिल्लो वर्ष कै खाद्यान्न मौज्दात रहनु र यसवर्ष पैदल मार्गबाट खाद्यान्न ढुवानी सुरु भएपछि हालसम्म मै गोदाममा मौज्दात राम्रो देखिएको हो ।
बुधबारसम्म लिमिटेडको गोदाममा चार हजार ८१२ दशमलव ४३ क्वीन्टल खाद्यान्न मौज्दात रहेको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णबहादुर थापामगरले बताउनुभयो । नयाँ आर्थिक वर्षको खाद्यान्न ढुवानी कार्य जारी रहेको बेला यो मौज्दात खाद्यान्न हालसम्म कै राम्रो रहेको हो ।
अघिल्लो आर्थिक वर्षको निर्धारित कोटाको खाद्यान्न सबै ढुवानी भएर आएको र यस वर्षको पनि पैदल मार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था भएको कारण मौज्दात राम्रो देखिएको उहाँले बताउनुभयो । अर्को कुरा पहिले जस्तो सर्वसाधारणले जति पाएपनि खाद्यान्न घरमा लिएर भण्डारण गर्ने प्रबृति हटेको कारण पनि गोदाममा खाद्यान्न मौज्दात राम्रो देखिएको हो ।
सर्वसाधारणलाई आवश्यकताका आधारमा लिमिटेडको शाखाले खाद्यान्न बिक्री गर्ने गरेको छ । यसवर्ष तेह्र हजार खाद्यान्न कोटा शाखा कार्यालयको लागि निर्धारण गरिएकोमा हालसम्म तीन हजार २३३ दशमलव पचास क्वीन्टल खाद्यान्न ढुवानी भई सकेको छ भने ढुवानी हुने क्रम जारी रहेको छ । अब नौ हजार ७६६ दशमलव पचास क्वीन्टल ढुवानी भएर आउन बाँकी रहेको छ ।
शाखासँग रहेका दुई वटा गोदाममा खाद्यान्न भरिएको कारण अब अर्को गोदामको आवश्यकता खड्किएको कारण त्यसको पनि व्यवस्था भएको उहाँले बताउनुभयो । लिमिटेडले सहुलियत दरमा प्रतिकेजी १२५ रुपियाँमा चिनी पनि बिक्री गर्दै आएको र र हाल नौ दशमलव १९ क्विन्टल चिनी मौज्दात रहेको छ । बजारमा चिनी प्रतिकेजी १३५ रुपियाँ पर्ने गर्छ।