• २० चैत २०८१, बुधबार

शिक्षक नेताले नियुक्तिपत्र बाँडे

blog

नवीनराज कुइँकेल

लमजुङ, चैत १९ गते । लमजुङमा राजनीतिक दलनिकटका शिक्षक नेताले प्राथमिक तहका नवनियुक्त शिक्षकलाई नियुक्तिपत्र वितरण गरेका छन् । शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्ने बहसलाई सो घटनाले चुनौती दिएको सरोकारवालाले टिप्पणी गरेका छन् । 

शिक्षा विकास तथा समन्वय एकाइ लमजुङले शिक्षक नेतालाई बोलाएर नवनियुक्त शिक्षकलाई नियुक्तिपत्र वितरण गर्न लगाएको हो । लमजुङमा स्थायी नियुक्तिका लागि सिफारिस भएका ४९ जना प्राथमिक तह तृतीय श्रेणीका शिक्षकलाई स्थायी नियुक्तिपत्र वितरण गरिएको हो ।

नवनियुक्त शिक्षकलाई नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घका गण्डकी प्रदेश महासचिव शिवराज अधिकारी, नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष हस्तबहादुर गुरुङ र नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष झपेन्द्र न्यौपानेले पनि नियुक्तिपत्र वितरण गर्नुभएको थियो । 

यसअघि नवनियुक्त शिक्षकलाई जिल्ला शिक्षा समितिका सभापति वा प्रमुख जिल्ला अधिकारी वा शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखले नियुक्तिपत्र वितरण गर्ने चलन थियो । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख दिवाकर शर्माले पेसागत सङ्घ सङ्गठनलाई परिचयात्मक कार्यक्रमका लागि मात्रै बोलाइएको जिकिर गर्नुभयो ।

“शिक्षकको नियुक्ति गर्ने दिनमा परिचय कार्यक्रम पनि राख्छौँ,” उहाँले भन्नुभयो, “जिल्ला समन्वय प्रमुख र पेसागत सङ्गठनका अधयक्षलाई बोलाउने चलन रहेछ । बोल्न होइन, परिचय दिन मात्र बोलाएको हो । चलिरहेको परम्परालाई तोड्न भएन त ।” 

सो कार्यक्रममा शिक्षा समितिका सभापति एवं समन्वय प्रमुख पूर्णबहादुर गुरुङ र प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ कार्यक्रममा उपस्थित हुनुभएन । अघिल्लो पटक निमावि तहका शिक्षकलाई भने समन्वय प्रमुखले नियुक्तिपत्र वितरण गर्नुभएको थियो ।