• २० चैत २०८१, बुधबार

पोखरामा हिमालयन एयरलाइन्सको उडान नियमित हुने अपेक्षा

blog

लेखनाथ समाचारदाता

लेखनाथ, चैत १९ गते । आन्तरिक उडान र केही चार्टर उडानमा सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार पहिलो व्यावसायिक उडान भएको छ । 

हिमालय एयरलाइन्सको जहाज चीनको ल्हासाबाट १०७ यात्रु लिएर सोमबार दिउँसो पोखरा आइपुगेको हो । सोमबार दिउँसो १२:४५ अवतरण गर्ने तय भएको जहाज एक घण्टा ढिलो गरी १:५५ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अन्तर्राष्ट्रिय उडानमध्ये यो १४ औँ हो । 

दुई वर्षअघि विमानस्थल सञ्चालनमा आएपछि पहिलोपल्ट हिमालय एयरलाइन्सले नियमित व्यावसायिक उडान सुरु गर्दा विमानका यात्रुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरप्रमुख धनराज आचार्य, नेपालका लागि चीनका राजदूत छन सोङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले स्वागत गर्नुभयो । 

हिमालयनको जहाज सोमबार पोखरामा राखेर मङ्गलबार बिहान ल्हासाका लागि उडान भर्ने छ । विमानमा १२३ यात्रु ल्हासा जाँदै छन् । हिमालय एयरलायन्सले पोखरादेखि ल्हासा हप्तामा एक उडान गर्ने गरी तालिका तय गरेको छ । उडानपछि विमानस्थलमा भएको कार्यक्रममा सरोकारवालाले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने वातावरण निर्माण आआफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रण गरेका छन् । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन राजधानी पोखरा र गण्डकी प्रदेशकै समृद्धिका लागि यातायातको सहज पहुँच मुख्य कुरा भएकोमा जोड दिनुभयो । उहाँले पोखराबाट ल्हासा हुँदै अन्यत्र जाने र अरू देशबाट ल्हासा हुँदै पोखरा आउने यात्रुलाई समेत आकर्षित गरी उडानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 

पोखराको पहुँच सहज बन्दै गएको उल्लेख गर्दै उहाँले हिमाल, ताल, सहासिक खेल प्रवर्धन गरी पर्यटनमा गण्डकीलाई अघि बढाउन सबै तहका सरकार लागेको बताउनुभयो । “कनेक्टिभिटी मुख्य कुरा हो । पोखरा जोड्ने राजमार्ग अहिले सहज बन्दै छ, हवाईमार्गबाट पनि विदेशसँग पोखरा सिधै जोडिँदै छ,” उहाँले भन्नुभयो, “अब पोखरा एयरपोर्टमा नाम अनुसार अन्तर्राष्ट्रिय उडान हुन्छ भन्ने विश्वास बढेको छ, कामका परिणाम देखिँदै गएका छन् ।” सङ्घीय संस्कृति पर्यटन तथा नागरिक उड्डयान राज्यमन्त्री अरुणकुमार चौधरीले दुवैतिर गरी अढाई अर्ब जनसङ्ख्या रहेका देशबाट लाभ लिने गरी हवाई उड्डयन व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपालका लागि चीनका राजदूत चेन सोङले चीनका विभिन्न सहरबाट पोखरामा प्रत्यक्ष उडान हुँदा दुई देशको सम्बन्ध जनस्तरमा विकास हुने अपेक्षा गर्नुभयो । उहाँले गत वर्ष भएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका समझदारीबमोजिम विभिन्न क्षेत्रमा सहकार्य अघि बढेको उल्लेख गर्नुभयो । 

पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा भ्रमण वर्ष २०२५ को अवधिमा सुरु भएको अन्तर्राष्ट्रिय उडानले आशा र ऊर्जा जगाएको उल्लेख गर्नुभयो ।  उहाँले पाँच दशकको प्रतीक्षापछि बनेको विमानस्थलबाट चाँडै लाभ लिने पोखरेलीको अपेक्षा यथार्थमा रूपान्तरण हुँदै गएको औँल्याउनुभयो । हिमालय एयरलायन्सका अध्यक्ष झो इन्याङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चार्टर उडान गरेको हिमालयनले नै पहिलो व्यावसायिक उडान थालेको जनाउनुभयो । उहाँले यो कदम नेपालको हवाई क्षेत्रमा कोसेढुङ्गा साबित हुने अपेक्षा गरेको बताउनुभयो । 

उपाध्यक्ष विजय श्रेष्ठले नेपालका विमानस्थलमा सरकारको योजना र अभिभावकत्वमा काम गरिरहेको जनाउँदै सरकारको साथबिना हवाई व्यवसाय अघि बढ्न कठिन हुने उल्लेख गर्नुभयो । “हामीले गौतम बुद्ध विमानस्थलबाट ५० वटा जति उडान गर्‍यौँ, सयौँ करोडमा नोक्सानी सह्यौँ,” उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “पोखराबाट उडान सुरु गरेका छौँ, सबैको साथको अपेक्षा गरेका छौँ ।”

२२ अर्ब चिनियाँ ऋण तथा अनुदान निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक यात्रु क्षमता आठ लाख भए पनि अहिले नै १० लाखभन्दा बढी यात्रुले आउजाउ गर्ने गरेको विमानस्थलले जनाएको छ ।