• २० चैत २०८१, बुधबार

आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

blog

तुलसीपुर, चैत १८ गते ।  आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ । 

अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो । उहाँले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताउनुभयो । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो । 

उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठुला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगन्ज जानुपर्ने अवस्था रहेको छ । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ । रासस