सिराज खान
नेपालगन्ज, चैत १९ गते । भारतसँग जोडिएका बाँकेका विभिन्न नाकाबाट पछिल्लो समय कुखुराको अवैध आयात बढेको छ। कुखुराको अवैध आयातले जिल्लाका किसानले गरेको कुखुरा उत्पादन र पोल्ट्री व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको जनाउँदै व्यवसायी आयात रोक्न नाकामा खटिन थालेका छन् ।
कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्ष धर्मराज पोखरेलले अवैध आयातका कारण नेपाली व्यवसायीको ठुलो लगानी डुब्ने अवस्था आएकोले व्यवसायीहरु आफै नाकामा पुगेर अवैध तस्करी गर्नेहरूको निगरानी गर्ने र प्रहरी बोलाएर जिम्मा लगाउने कार्य सुरु गरेको बताउनुभयो ।
उहाँले सो क्रममा नाकाबाट अवैध रुपमा भित्र्याइएका कुखराहरुलाई नेपालगन्ज बजारका विभिन्न मासु पसल र अन्य ठाउँबाट बरामद गरेर प्रहरीलाई बुझाउन थालेको बताउनुभयो ।
नेपाली कुखुरा व्यवसायीका अनुसार खुला सीमानाको फाइदा उठाउँदै बर्दियाको बलई गाउँ फुटाहा नाकादेखि पूर्वी बाँकेको नरैनापुरसम्मका विभिन्न दर्जन बढी अवैध नाकाबाट कुखुराको अवैध आयात भइरहेको छ।
नेपालमा एक किलो कुखुरा तयार हुँदा २२० रूपियाँ सम्म लागत पर्ने र भारतमा भने त्यही कुखुरा ९० रूपियाँमा तयार हुने भएकाले मूल्यको असमानताका कारण तस्करी मौलाएको कुखुरा व्यवसायी मञ्च बाँकेले जनाएको छ । बाँकेमा पाँच सय बढी साना ठूला कुखुरा पालक किसान र व्यवसायी रहेको तथ्यांक मञ्चसँग छ।
उता, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख, एसपी तुल बहादुर कार्कीले सीमा क्षेत्रबाट कुखुराको अवैध तस्करी भैरहेको सूचना प्राप्त भएपछि नियन्त्रणका लागि प्रहरीले गम्भीर भएर काम गरिरहेको बताउनुभयो।
यसैबीच, जिल्ला प्रहरी कार्यालय बाँकेले फागुन महिनामा मात्रै अवैध रूपमा भारतबाट ल्याइएका तीन लाख ७६ हजार ८१० रुपियाँ मूल्य बराबरको बोइलर कुखुरा र मासु नियन्त्रणमा लिएर पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज बुझाएको जनाएको छ ।