• १७ असार २०८१, सोमबार

बुटवल–लुम्बिनी प्रसारण

लाइन निर्माण अन्तिम चरणमा

blog

योगीकुटी क्षेत्रमा भूमिगत तार बिछ्याइँदै ।तस्बिर : लक्ष्मण पौडेल

भैरहवा, जेठ २१ गते । बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माण पूरा हुने अवस्थामा पुगेको छ । यो आयोजनाको साढे १५ किलोमिटर लम्बाइको ओभरहेड तार टाँग्ने काम सकिएको छ भने योगीकुटीबाट तिनाउसम्म दुई किलोमिटरको भूमिगत लाइन बिछ्याउने काम पनि अन्तिम चरणमा पुगेको छ ।

भूमिगत लाइनका लागि केवल बिछ्याउने काम सम्पन्न भइसकेको छ भने अब नाङ्गो तारसँग केवल जोड्ने काम मात्र बाँकी रहेको र १० दिनमा उक्त काम पनि सकिने आयोजना प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिनुभयो । यो आयोजना सम्पन्न भएसँगै नेपाल–भारतबीच विद्युत् व्यापारका लागि संरचना पनि तयार हुनेछ र नेपाल–भारतबीच विद्युत् व्यापारको ढोका खुल्नेछ । 

मैनहिया सबस्टेसनसँग जोडेर ‘मैनहिया–सम्पत्तिया १३२ केभी प्रसारण लाइन आयोजना’ पनि सँगसँगै अगाडि बढेको छ । मैनहिया सबस्टेसनदेखि २७ किमि दक्षिण भारतको सम्पत्तियामा भारत सरकारले सबस्टेसन तयार गरिसकेको छ । मैनहिया र सम्पत्तिया सबस्टेसन विद्युत् लाइन जोडिएपछि नेपाल–भारतबीच दुई सय मेगावाट क्षमताको विद्युत् आयात निर्यात गर्ने पूर्वाधार तयार हुनेछ ।

असार महिनासम्ममा यो योजना पनि सम्पन्न हुने तयारीमा छ । बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माण आयोजनाअन्तर्गत भैरहवा नजिकै मैनहिया भन्ने स्थानमा सबस्टेसन निर्माण गरिएको छ । बुटवलमा रहेको राष्ट्रिय प्रसारण लाइन ग्रिडसँग जोडेर दुई सय मेगावाट क्षमताको लाइन सबस्टेसनमा ल्याइएको छ । 

अब आयोजना निर्माणको काम सकिनेबित्तिकै लाइन चार्जको काम हुने र असारभित्रै आयोजना उद्घाटन हुने पाण्डेले बताउनुभयो । “बीचमा कुनै समस्या नआए आयोजना अब असारभित्रै उद्घाटन हुन्छ । यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि यो ऐतिहासिक उपलब्धि हो,” उहाँले भन्नुभयो ।

आव २०७३÷७४ मा ठेक्का सम्झौता भएको १३२ केभी प्रसारण आयोजनाले तीनवटा मुख्य काम चरणबद्ध रूपमा अगाडि बढाएको थियो । आयोजनाले तीन वर्ष लगाएर रुपन्देहीको मैनहियामा कम्पाउन्ड वालसहितको भवन निर्माण गरेको थियो । 

सोही आर्थिक वर्षमा सुरु भएको सबस्टेसन निर्माणको काम पनि अब अन्तिम चरणमा पुगेको आयोजना प्रमुख पाण्डेले बताउनुभयो । “अब ३३÷११ र १३२÷३३ केभीएको एउटा ट्रान्सफर्मर जडान गर्न बाँकी छ,” उहाँले भन्नुभयो ।

त्यस्तै आयोजनाले तेस्रो महŒवपूर्ण काम भूमिगत तार बिछ्याउने काम पनि अन्तिम चरणमा पुगेको छ । यो काम सकिएसँगै आयोजना निर्माण सकिनेछ । प्रसारण लाइन आयोजना निर्माणको ठेक्का चिनियाँ र नेपाली ठेकेदारले पाएका थिए । 

आयोजनाका अनुसार हाल भैरहवा क्षेत्रका उद्योग र गार्हस्थ्य उपभोक्तालाई करिब ६० मेगावाट विद्युत् आपूर्ति भएको छ । जब कि उद्योग क्षेत्रको मात्रै विद्युत्को माग ९० मेगावाट छ । आयोजना सम्पन्न हुनासाथ ९० मेगावाट विद्युत् तत्कालै आपूर्ति गर्ने योजनामा आयोजना पाण्डेले जानकारी दिनुभयो । पछि माग थप भएमा दुई सय मेगावाट विद्युत् मैनहिया सबस्टेसनबाट उपलब्ध गराउन सकिनेछ ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक कोरिडोरलगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन विस्तार थालिएको थियो । प्रसारण लाइन बनेपछि ती क्षेत्रहरूमा पर्याप्त विद्युत् पुग्नेछ ।  

सरकारले आयोजना सुरु गर्दा तीन वर्षमा सक्ने लक्ष्य राखेको थियो । आयोजनाको लागत एक अर्ब १९ करोड रुपियाँ रहेको छ । आयोजना सुरु हुनासाथ विद्युत् विस्तारका लागि जग्गा प्राप्ति गर्ने क्रममा स्थानीयवासीले सहयोग नगर्दा ढिलाइ भएको आयोजना प्रमुख पाण्डेले बताउनुभयो । 

बुटवल–लुम्बिनी १३२ केभी यो आयोजनाबाट लुम्बिनी क्षेत्र र अमुवाका लागि एक÷एकवटा र भैरहवामा औद्योगिक फिडरका लागि ३३ केभीएका दुईवटा ट्रान्समिसन लाइन जडान भएका छन् । त्यस्तै तिलोत्तमा नगर क्षेत्र र स्थानीयवासीका लागि ११ केभीएका दुईवटा ट्रान्समिसन लाइन जडान हुनेछन् । अब मर्चवारमा पनि ३३÷११ केभीएको एउटा सबस्टेसन निर्माण हुने पाण्डेले बताउनुभयो ।

Author

लक्ष्मण पौडेल