• १९ चैत २०८१, मङ्गलबार

राकम कर्णालीमा स्याटेलाइट अस्पताल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १८ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको बैठकले दैलेखको आठबिसकोट नगरपालिका राकम कर्णालीमा ५० शय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको ११ औँ बैठकले स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको हो । बैठकबाट उक्त स्थानमा विगतमा १५ शय्याको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना अनुमोदन गरेको हो । सो अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्ने छ । 

बैठकमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले कार्ययोजनाबारे सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श र सहकार्य गरेर तीव्र रूपमा काम अघि बढाउन निर्देशन दिनुभयो । उहाँले कर्णालीका जनताले स्वास्थ्य र शिक्षा सहज ढङ्गले प्राप्त गर्नुपर्ने भन्दै ५० शय्याको अस्पतालबाट त्यहाँका जनताले राम्रो स्वास्थ्य सेवा पाउने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले प्रतिष्ठान आरम्भदेखि नेपाल सरकारले पूर्ण लगानी गरेकाले अस्पतालको स्तरोन्नति भएपछि त्यहाँका जनताको सहज स्वास्थ्य सेवाका लागि सरकारले सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो । 

सभाको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बाँकी अवधिको बजेट पारित हुनुका साथै गत आवको आन्तरिक लेखा परीक्षकको प्रतिवेदन जानकारी गराइएको छ । यसै गरी बैठकबाट आव वर्षको प्रस्तावित वार्षिक कार्यक्रमसहितको बजेट पारित गरिएको छ भने प्रतिष्ठानको रिक्त सभा सदस्यको मनोनयन गरिएको छ ।

बैठकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले प्रतिष्ठानले गरेको प्रगति तथा आगामी कार्यबारे प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । 

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कर्णाली प्रतिष्ठानमा पहुँच नहुने नागरिकको उपचार हुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठान सबैको संस्था हो । यो गरिबको संस्था हो, यहाँ पहुँच नभएका मानिस उपचारका लागि आउने गर्छन् ।”

राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी बिच्छाले आयोगको तर्फबाट कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई सहयोग गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि प्रतिष्ठानका लागि सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।