स्मिता अर्जेल
मकवानपुरगढी, चैत १७ गते । बागमती प्रदेशको राजधानी हेटौंडामा अवस्थित उच्च अदालत पाटन हेटौंडा इजलासले चालू आर्थिक वर्षको चैत पहिलो सातासम्ममा ५८.९३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।
चालु आर्थिक वर्ष २०८१÷८२ को यस अवधिमा ८ सय ५ थान मुद्दा फर्छ्यौट गरेको अदालतका उपरजिष्ट्रार केशरनाथ अर्यालले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३ सय ७४ र चालु आवमा हालसम्म दर्ता भएका ९ सय ९२ गरी १३ सय ६६ थान मुद्दामध्ये ८ सय ५ थान मुद्दा फर्छ्यौट भएका हुन् ।
अर्यालका अनुसार ५ सय ६१ थान मुद्दा हेर्न बाँकीमा राखिएका छन् । चितवन र मकवानपुरको पुनरावेदकीय इजलासमा रहेको उच्च अदालत पाटन हेटौंडामा एक वर्ष नाघेका मुद्दाहरु ३५ थान रहेका छन् भने सो माथिका सबै मुद्दा फर्छ्र्याट भइसकेका छन् ।
यस चालु वर्षमा १ हजार ८ सय नयाँ मुद्दा दर्ता हुने अनुमान गरिएको छ । उपरजिष्ट्रार अर्यालका अनुसार चालु आवमा १ हजार १ सय ४५ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिइएकोमा ३ सय ४० थान मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् ।
अदालतमा जिल्लाबाट पुनरावेदन भइआएका सरकारीवादी फौजदारी मुद्दा सबैभन्दा धेरै लगत भएका छन् भने सरकारवादी देवानी मुद्दा शुन्य रहेको छ । त्यस्तै दुनियावादी देवानी र दुनियावादी फौजदारी मुद्दाहरु दर्ता हुनेगरेका छन् । सबैभन्दा धेरै लागुऔषध, बैङकिङ् कसुर,चेक अनादर, सम्बन्ध विच्छेद, राजस्व लगायतका मुद्दाहरु हेर्नेगरेको उपरजिष्ट्रार अर्यालले बताउनुभयो ।
उहाँका अनुसार मकवानपुर जिल्लाभन्दा चितवन जिल्लाबाट धेरै मुद्दाहरु उच्च अदालत पाटन हेटौंडा इजलासमा दर्ता हुने गरेका छन् । अदालतले यस वर्षदेखि दोभाषेको मागगरी सूचना प्रकाशित गरेको छ । सेवाग्राहीलाई अदालती भाषामा सहजता प्रदान गर्ने र काम कारबाहीलाई चुस्त रुपमा अगाडि बढाउन दोभाषे आवश्यक रहेको उपरजिष्ट्रार अर्यालले बताउनुभयो ।
त्यस्तै,अदालतमा गत आर्थिक वर्षमा १ हजार ५ सय १९ थान मुद्दा दर्ता भएकोमा ७६.९० प्रतिशत प्रगति हाँसिल भएको थियो ।