गोरखापत्र अनलाइन
काठमाडौं, चैत १७ गते । नेकपा (एमाले) ले काठमाडौंको तीनकुने क्षेत्रमा भएको अराजक र आपराधिक क्रियाकलाप गर्नेलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार आइतबार प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको ४७ औं बैठकले सो निर्णय गरेको छ । उहाँका अनुसार बैठकले राजावादीको नाममा तीनकुने, कोटेश्वर र जडीबुटी लगायतका क्षेत्रमा आपराधिक समूहले देखाएको उदण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीररुपमा लिदै त्यसको निन्दा तथा भत्र्सना गरिएको छ ।
शान्तिपूर्ण प्रदर्शनका नाममा सवारी साधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकको घर, व्यावसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट, हिंसा र आतङ्क सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातर्फ धकेल्नेजस्ता अराजक र आपराधिक क्रियाकलापको छानविन गरी दोषीउपर तत्काल कारवाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गरिएको उहाँको भनाइ छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरोधका कारणले प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यावधान सिर्जना भइरहेको भन्दै संविधान र कानुनको व्यवस्थाअनुरुपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दललाई एमालेले अनुरोध गरेको छ। यसैगरी, वैशाख ९ गते पार्टी स्थापना दिवसलाई युथ समिटका रुपमा मनाउने निर्णय गरिएको महासचिव पोखरेलले बताउनुभयो ।