• १९ चैत २०८१, मङ्गलबार

हिंसाविरुद्ध पोखरामा नागरिकको धर्ना

blog

धर्नामा बसेका स्थानीय नागरिक ।

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), चैत १७ गते । अराजकता र हिंसाका विरुद्ध पोखरामा नागरिक अगुवाले धर्ना दिएका छन् । गत चैत १५ गते राजावादीको नाममा काठमाडौमा गरिएको आन्दोलदनमा सञ्चारकर्मीसहित दुई जनाको ज्यान जानेगरी भएको हिंसाविरुद्ध धर्ना दिएका हुन् । 

“लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गराँै, अराजकता र हिंसालाई निरुत्साहित गरौँ” नाराका साथ पोखराको मुस्ताङचोकमा मानव अधिकारकर्मी, नागरिक अगुवा, सञ्चारकर्मीलगायत विभिन्न पेशागत संघ संस्थाका प्रतिनिधि धर्नामा सहभागी भएका थिए । 

धर्नामा सहभागी भएकाहरुले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, दण्डहीनता अन्त्य गर, मिडियामाथिको हमला बन्द गर, मानवअधिकारकर्मी र सञ्चारकर्मीमाथिको आक्रमण बन्द गर, लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

करिब एक घण्टाको धर्नापछि आयोजित सभामा बोल्ने नागरिक अगुवाहरुले गणतन्त्रको विकल्प गणतन्त्र नै भएको र राजसंस्था पुनस्र्थापना सम्भव नभएको बताएका थिए । 

राजतन्त्रको सामन्ती प्रवृत्ति राजनीतिक दलका शीर्ष नेताहरुमा पनि देखिएकाले यसले समस्या ल्याएको बताउँदै दल र दलका नेताहरुमा लोकतान्त्रिक सोच हुनु पर्नेमा उहाँहरुको जोड थियो । 

कार्यक्रममा गैसस महासंघका निवर्तमान अध्यक्ष राम सुवेदीले गणतन्त्र नेपाली जनताको प्राण र सास भएको बताउनुभयो । राजसंस्था फर्काउने कुरा गलत र असम्भव भएको उहाँको भनाइ छ । 

अधिकारकर्मी विष्णु बरालले राजा आउने कुनै सम्भावना नभएको बताउनुभयो । उहाँले राजनीतिक दल र नेताहरुमा देखिएको सामन्ति सोचलाई त्याग्नुपर्ने बताउयनुभयो । 

अधिकारकर्मी तथा अधिवक्ता सुरेन्द्र थापा मगरले पूर्वराजा ज्ञानेन्द्रको आफ्नै गतिविधिले प्रतिष्ठालाई कमजोर बनाएको बताउनुभयो । नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले लोकतन्त्र ल्याउन मिडिया र पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । सञ्चारकर्मी निसानामा पर्नु दुखद् भएको उहाँले बताउनुभयो । 

कार्यक्रममा गैसस महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का र अधिकारकर्मी शेखर गौतमले संविधानले दिएको अधिकार प्रयोग गरेर आन्दोलन गर्न तथा हिंसा अराजतकलाई निरुत्साहितका लागि कार्यक्रम गरिएको बताउनुभयो । काठमाडौँमा भएको घटनाको छानबिनगरी दोषीलाई कारबाही गर्न पनि धर्नामा सहभागी भएकाहरुले माग गरेका छन् ।