पुष्कर भण्डारी
डडेल्धुरा, चैत १७ गते । नेपाली कांग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल हिन्दु धर्म हिन्दु संस्कृती मान्ने राष्ट्र भएको बताउनुभएको छ । डडेल्धुरा–डोटी जिल्लाको संगमस्थल सेती र साकल्य नदी मिसिएर हुने त्रिवेणी गहनान धाममा आइतबार श्रीमद भागवत महायज्ञको उद्घाटन गर्दै उहाँले हिन्दु परम्परालाई मान्ने नेपालीको परम्परा रहेको बताउनुभयो ।
"हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो", उहाँले भन्नुभयो, "गाई लाई पूजा गर्ने देश हो । गौ हत्या गर्न पाइँदैन । कडा कानुन छ । यसलाई अझै कडाईका साथ लागु गर्ने छौं ।"
माघे सङ्क्रान्तिका दिन स्नान गर्नेको घुुइँचो लाग्ने गहनान धाम मशान पनि हो । यस क्षेत्रको ठुलो मसान भएको उल्लेख गर्दे सभापती देउवाले यो अत्यन्तै महत्त्वपूर्ण ठाउँ भएको बताउनुभयो । "हाम्रो बाजे पूर्खाहरूको चिहान हो", उहाँले भन्नुभयो, "उहाँहरूलाई यही जलाएको हो । यहा दिवंगत आत्मको अन्तिम संस्कार गर्नुका साथै हिमालबाट बगेको सेती नदीमा स्नान गरी पुण्य लाभ हुन्छ भन्ने मान्यता रहिआएको छ ।"
सेती नदी र सकायल नदी गाडको सङ्गमस्थल विभिन्न ऋषि मूनीहरूले तपश्या गरेको पवित्र स्थान भएको बताउँदै उहाँले यहाँ हुने मेला र पूजाहरूमा धेरै पटक आफू पुगेको स्मण गर्नुभयो । गहानान क्षेत्रकै माथि डाँडोमा रहेको उच्चकोट विद्यालयमै आफूले अध्ययन गरेको सम्झदै उहाँले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर यता पूर्व उत्तरका स्थानीयहरूको पवित्र स्थलमा रूपमा गहनान रहेको बताउनुभयो ।
यहाँ विभिन्न देवताका मन्दिरहरू छन् । उहाँले भन्नुभयो, "घण्टेश्वर उताका स्थानीय महाकाली नदीको किनार परशुराम जाने गर्दथे । त्यसलाई फर्सनान भनिन्थ्यो ।" घण्टेश्वर यताका मान्छेहरू अन्तिम संस्कार, अस्तु सेलाउन र स्नान गर्न यस ठाउँमा आउने चलन पुर्खौंदेखि रहिआएको उहाँले बताउनुभयो ।
धार्मिक पर्यटन प्रवर्धन र गहनान क्षेत्रको विकास गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको छ । डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका ४, गन्यापधुरा गाउँपालिका ५ र डोटी जिल्लाको शिखर नगरपालिका १० को सङ्गमस्थल बानेडुग्रीसैनमा अवस्थित 'गहनान धाम'मा महायज्ञको आयोजना गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । तीन वटै पालिकाको समन्वय र सहकार्यमा महायज्ञको आयोजना गरेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार गहनान क्षेत्र विकास समितिले चैत १७ गतेदेखि २५ गतेसम्म 'श्रीमद् देवीभागवत महापुराण ज्ञान धन, धन्याञ्चल लक्ष हवन महायज्ञ २०८१' आयोजना गरेको हो ।
शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले गहनानसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार विकासका कामअघि बढाउन कांग्रेस सभापती देउवालाई ज्ञापन पत्रसमेत बुझाउनुभएको छ । गहनान् क्षेत्रमा आवश्यक पूर्वाधार, संस्कृत विद्यालय स्थापना, सेती र सकायल नदीको कटान रोक्न तटबन्ध निर्माण, सेती नदीमा पुल, महाभारत पर्वत क्षेत्र भएर गन्यापधुराको रेल–शिखर–केआइसिंह गाउँपालिका जोड्ने सडक निर्माणका लागि मागपत्रसहित ज्ञानपत्र बुझाइएको उहाँले बताउनुभयो ।