• २० वैशाख २०८१, बिहिबार

घट्यो सार्वजनिक यातायात भाडा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २१ गते । दुई वा दुईभन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातको भाडा घटेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश सवारीसाधनको भाडा घटेको हो । यातायात व्यवस्था विभागले शुक्रबार सूचना निकालेर सवारीसाधनको भाडा घटेको जानकारी दिएको हो । 

नेपाल आयल निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटरमा १० रुपियाँ घटाएसँगै विभागले सवारीसाधनको भाडा घटाएको हो । यात्रुवाहक सवारीमा दुई प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २.६ प्रतिशत मूल्य घटेको विभागले जानकारी दिएको छ । तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २.९ प्रतिशत भाडा घटेको छ । 

सरकारले सार्वजनिक सवारीसाधनको भाडादरलाई स्वचालित बनाउने व्यवस्था गरेको छ । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ । पेट्रोलियम पदार्थको मूल्यका आधारमा सवारी भाडादर घटबढ हुने गर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि त्यसको असर स्थानीय बजारमा पर्न गएको हो ।