• १८ असार २०८१, मङ्गलबार

नेपाल ओमानसँग पराजित

blog

मैत्रीपूर्ण अभ्यास खेलमा प्रतिस्पर्धा गर्दै नेपाल र ओमानका खेलाडी ।

काठमाडौं, जेठ २१ गते । एएफसी एसियन कप छनोटको तयारीका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण अभ्यास खेलमा ओमानसँग पराजित भएको छ । कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित भयो । 

ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले गोल गर्नुभएको थियो । नेपाली टोली दोहामा तीनवटा मैत्री खेल खेलेर एसियन कप छनोट खेल्न शनिबार (आजै) कुवेत जानेछ । यसअघि नेपालले पहिलो अभ्यास खेलमा टिमोर लिस्टेको यू–२३ टोलीसँग २–२ गोल र श्रीलंकासँग १–१ गोलको बराबरी खेलेको थियो । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

तुलनात्मक रुपमा कठिन रहेको यस समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया छ । नेपालले समूहको पहिलो खेल जेठ २५ गते जोर्डन, २८ गते कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्नेछ । समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछन् । 

नेपाली टोली 

गोलरक्षक – दीप कार्की, विशाल सुनार र टिकेन्द्रसिंह थापा

रक्षक – विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल

मिडफिल्डर – आकाश बुढामगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल र सुरज ज्यू ठकुरी

स्ट्राईकर – नवयुग श्रेष्ठ (कप्तान), आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की र मनीष डाँगी ।