• १९ चैत २०८१, मङ्गलबार

तीन महिनापछि रेसुङ्गाबाट उडान हुँदै

blog

तम्घास समाचारदाता

तम्घास, चैत १७ गते । तीन महिनापछि गुल्मीको रेसुङ्गा विमानस्थलबाट उडान हुने भएको छ । गत पुस ४ गतेबाट उडान हुन नसकेको विमानस्थलबाट सोमबार उडान भर्ने तयारी रहेको विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो । 

चैत १८ गते सोमबार बिहान नेपाल एयरलायन्सको जहाजले उडान भर्ने कार्यतालिका रहेको उहाँले बताउनुभयो । जहाज मर्मतका कारण नियमित उडान हुन सकेको थिएन । 

पहिलो साताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको जहाजले यात्रुको अत्यधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो । वर्षायाम सुरु भएपछि पछिल्लो समय साताको एक दिन शुक्रबार मात्रै उडान गर्ने गरी कार्यतालिका रहेको थापाले बताउनुभयो । पछिल्लो समयमा यात्रुहरूको चापलाई मध्यनजर गर्दै साताको शुक्रबार र बुधबार दुई दिन उडान गर्ने कार्यतालिका रहेको थापाले बताउनुभयो । 

काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङ्गाबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने कार्यतालिका रहेको उहाँले बताउनुभयो । हवाईयात्रामा गुल्मी जोडिएसँगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरू घुम्नका लागि गुल्मी आएको रेसुङ्गा नगरपालिका गुल्मीले जनाएको छ ।

हाल गुल्मीबाट काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट गुल्मीका लागि सात हजार पाँच सय रुपियाँ भाडा कायम गरेको स्टेसन प्रमुख थापाले बताउनुभयो । जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गत वर्षको वैशाख २९ गतेबाट व्यावसायिक उडान सुरु गरिएको थियो ।