• १८ असार २०८१, मङ्गलबार

शिशु कक्षाबाटै अङ्ग्रेजी माध्यम

blog

ढल्केबर, जेठ २१ गते । धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयले शिशु कक्षाबाटै अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । उमेर समूहका आधारमा विद्यार्थीले गठन गरेको बाल ज्ञान क्लबले पाठ्यपुस्तक र स्वयंसेवकका रूपमा कक्षामा पढाउन सहयोग गर्ने भएपछि विद्यालयले शिशु कक्षाबाटै अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको हो । 

क्लबका सदस्यले राष्ट्रिय आधारभूत विद्यालय श्रीपुरलाई नमूना विद्यालय बनाउन र शिशु कक्षादेखि नै अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने प्रतिवद्धता व्यक्त गर्दै विद्यार्थी भर्ना अभियान चलाएको छ । भर्ना अभियान सञ्चालनपछि शिशु कक्षामा २५ जनाभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । 

बाल ज्ञान क्लबका संस्थापक अध्यक्ष महेश महतोले संस्थागत विद्यालय जस्तै नर्सरी, एल केजी र यू केजी कक्षा सञ्चालन गरी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउनका लागि सहजीकरण गरिरहेको बताउनुभयो । विद्यालयमा सरकारी स्तरबाटै बालविकास कक्षादेखि पाँच कक्षासम्म पठनपाठन भइरहेको छ । 

यसैबीच मिथिला नगरपालिकाका नवनिर्वाचित प्रमुख महेन्द्र महतोले पदभार ग्रहण गरेकै दिन नगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने घोषणा गर्नुभएको छ । यसको कार्यान्वयन भने असार–साउनबाट गरिनेभएको छ । आर्थिक वर्ष ०७९/०८० बाट बजेट विनियोजन गरी थप जनशक्ति, पाठ्यपुस्तक र आधारभूत कुराको तयारी गरेर नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने प्रमुख महतोले बताउनुभयो ।