• १८ चैत २०८१, सोमबार

बालमैत्री नगर बनाउने अभियान

blog

वालिङ समाचारदाता 

वालिङ, चैत १६ गते   । स्याङ्जाको वालिङ नगरपालिकालाई आगामी २०८३ मङ्सिरसम्ममा पूर्ण रूपमा बालमैत्री बनाइने भएको छ । दुई वर्षपछिको अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका दिन वालिङलाई बालमैत्री नगर घोषणा गर्ने योजनाका साथ तयारी सुरु गरिएको नगर उपप्रमुख कविता तिवारी गैरेले जानकारी दिनुभयो । वालिङलाई बालमैत्री घोषणा तथा कार्यान्वयनका लागि नगरपालिका कार्यविधि नै बनाएर अगाडि बढ्ने उहाँको भनाइ छ । 

सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिकाको समन्वयमा गरिएको कार्यव्रmममा जनप्रतिनिधिले दुई वर्षको अवधिमा बालमैत्री बनाउने प्रतिबद्धता जनाएका हुन् । बालमैत्री नगर घोषणा गर्ने तयारीका लागि सम्पूर्ण सरोकारवालाको सहयोगको अपेक्षा राख्दै उपप्रमुख तिवारीले स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको वालिङ नगरपालिकामा छिट्टै बाल अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगरलाई बालमैत्री पालिका घोषणाका लागि विभिन्न ५१ सूचक पूरा गर्नुपर्ने राष्ट्रिय बाल परिषद् गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकाको अधिकारलाई सुनिश्चित गर्न सके देशको भविष्यसमेत उत्कृष्ट रहन्छ ।” बालबालिकाको अधिकार र अवस्था, वालिङ नगरपालिकामा बालबालिकाको तथ्याङ्क, बालमैत्री स्थानीय शासनको सूचकाङ्क, सरोकारवालाको भूमिका तथा बालमैत्री स्थानीय शासन साझा प्रतिबद्धतालगायतका विषयमा जनप्रतिनिधि तथा सरोकारवालालाई उहाँले जाकारी गराउनुभएको थियो । सो अवसरमा वालिङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने प्रतिबद्धतामा जनप्रतिनिधि तथा कर्मचारीले सामूहिक हस्ताक्षर गरेका छन् । 

बालबालिका अन्तर्गत १८ वर्ष पूरा नभएका अर्थात् छ हजार ५७० दिनसम्मको उमेरमा पर्ने सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो । वालिङ नगरपालिकामा कुल जनसङ्ख्याको २८.५७ प्रतिशत बालबालिका रहेको तथ्याङ्कले देखाएको छ । ११ पालिका रहेको स्याङ्जामा भिरकोट नगरपालिका पहिलो बालमैत्री नगर घोषणा भएको छ । जिल्लाका अन्य पालिका पनि बालमैत्री अभियानमा जुटेका प्रमुख पौडेलले बताउनुभयो ।