• १८ चैत २०८१, सोमबार

एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड

वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक

blog

निराजन परियार 

चौमाला (कैलाली), चैत १५ गते । चैत १९ मा कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड २०८१’ को थप एक विधाको मनोनयन सार्वजनिक गरिएको छ । 

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष खेलाडी (पुरुष) को मनोनयन सार्वजनिक गरेको हो । छनोट समितिका संयोजक सीताराम ओझाका अनुसार वर्ष खेलाडी पुरुषको मनोनयनमा खोखोका हेमराज पनेरु, करातेका मोहमद शेखु आलम र भलिबलका अर्जुन नेपाली छन् । 

खोखोका पनेरु प्रथम खोखो विश्वकपको पुरुषतर्फ नेपाललाई उपविजेता बनाउने कप्तान हुन् । उहाँकै कप्तानीमा नेपालले चौथो एशियाली खोखो च्याम्पिएनसिप, नेपाल–भारत खोखो टेस्ट म्याच र प्रथम खोखो विश्वकप गरी तीन वटा प्रतियोगितामा लगातार रजत पदक जितेको थियो । 

 भलिबलका नेपाली श्रीलङ्कामा भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउने कप्तान हुन् । सहाना प्रधान भलिबल प्रतियोगितामा सुदूरपश्चिमलाई तेस्रो बनाउन उहाँले उत्कृष्ट प्रदर्शन गरेका थिए । उहाँ प्रतियोगिताकै उत्कृष्ट ब्लकर बन्न सफल भएका थिए । 

करातेका आलम भुटानमा भएको आठौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपाललाई एक स्वर्ण र एक रजत पदक जिताउने खेलाडी हुन् । उहाँले १६ औं एसिया प्यासिफिक सितुरियो कराँते च्याम्पियनसिपमा नेपाललाई कास्य पदक जिताएका थिए । 

आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकका अनुसार मञ्चले आठ विधामा अवार्ड प्रदान गर्नेछ । वर्ष खेलाडी महिलाको मनोनयनमा खोखोकी मानमती धामी, कबड्डीकी मानमती  विष्ट र बक्सिङकी स्वस्तिका तिरुवा परेका छन् । 

वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् । यस्तै, वर्ष प्रशिक्षकको मनोनयनमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा पर्नुभएको छ ।  

सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेताको नाम भने अवार्डकै दिन घोषणा गरिने बताइएको छ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले बताउनुभयो । 

उहाँका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ । धनगढी रंगशालामा हुने अवार्डमा विभिन्न साङ्गितिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । गायक दुर्गेश थापाको पनि प्रस्तुति रहने मञ्चले जनाएको छ ।