• १६ चैत २०८१, शनिबार

नुवाकोटमा पञ्चकन्या क्रसकन्ट्री दौड

blog

काठमाडौँ, चैत १३ गते । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा चैत ३० गते दोस्रो संस्करणको ‘पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा दौड प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा पुरुष/महिला खुला १० किमि र पञ्चकन्या पालिकास्तरीय छात्र/छात्रातर्फ ५ किमि दुरीमा दौड हुनेछ । खुला दौडतर्फ पुरुष र महिला दुवैका विजेता खेलाडीले २२ हजार, दोस्रो हुनेले १६ हजार र तेस्रो हुनेले १० हजार

पाउनेछन् । ५ किमि दुरीको छात्रछात्रा दौडतर्फ विजेता हुनेले ११ हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ४ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभन्ज्याङबाट सुरु हुने दौड ‘घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क’ पुगेर सोही रुट घलेभन्ज्याङ आएर सकिनेछ ।

पञ्चकन्या–४ मा निर्माण गरिएको घ्याङ्स्वाँरा सहिद स्मारक पार्कको प्रचारप्रसार तथा जनकल्याण शैक्षिक अक्षयकोष स्थापनाको सहयोगार्थ दौड प्रतियोगिता गरिन लागेको समाजका अध्यक्ष टीकाराम तामाङले बताउनुभयो । 

सोही अवसरमा पञ्चकन्या पालिकाका राष्ट्रिय पदक विजेता खेलाडी सम्मान र चर्चित कलाकार रामहरि भण्डारी, मिना लामा, रामेश्वर भण्डारीलगायतको साथमा सांगीतिक कार्यक्रमसमेत हुने जनाइएको छ ।

सहभागी हुन चाहनेका लागि नाम दर्ता खुला गरिएको कार्यक्रम संयोजक एवं संस्थाका कोषाध्यक्ष रामहरि भण्डारीले जानकारी दिनुभयो । गत संस्करणमा नेपालका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरिएको थियो ।