• १६ चैत २०८१, शनिबार

बैतडीमा १०२ जना क्षयरोगी, १३ जनाको मृत्यु

blog

गोकर्ण दयाल
बैतडी, चैत १३ गते ।
बैतडीमा यो वर्ष चार जना थप क्षयरोगी पत्ता लागेसँगै बिरामीको सङ्ख्या १०२ जना पुगेको छ । ९८ जना पुराना र यो वर्ष थप चार जना गरि १०२ जनाको क्षयरोगीको नियमित उपचार भइरहेको छ । तथ्याङ्क अनुसार बैतडीमा गत वर्ष क्षयरोगका कारण ११ जना र चालु आर्थिक वर्षमा दुई जना गरी १३ जनाको मृत्यु भएको छ ।

‘खोकी न सोकी क्षयरोग पो हो कि ?’ भन्दै स्वास्थ्यकर्मीको टोली क्षयरोग पत्ता लगाउन गाउँगाउँ पुग्न थालेका छन् । सामुदायमा क्षयरोगका बिरामी भए पनि आफैँ उपचारमा नआँउदा क्षयरोगी पत्ता लगाउनु टोली परिचालन गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताउनुभयो । 

विश्व क्षयरोग दिवसको अवसरमा पारेर सोमबार स्वास्थ्य कार्यालयले सरोकारवालासँग अन्तरक्रिया गरेको छ । क्षयरोग पत्ता लगाउन समुदाय स्तरमै स्क्रिनिङ कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले बताउनुभयो ।
नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । क्षयरोगको औषधी सबै स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइने गरेको छ । क्षयरोगीले ६ महिनासम्म नियमित औषधी सेवन गरेमा क्षयरोग पूर्ण रुपमा निको हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

लगातार दुई हप्तासम्म खोकी लाग्नु, छाती दुःखेर श्वास फेर्न गाह्रो हुनु, तौल घट्नु वा थकाइ लाग्नु, रगतसहित वा रहित खकार खोक्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु जस्ता लक्षणदेखिएमा क्षयरोग हुन सक्छ भन्ने मान्यता रहेको छ । पछिल्लो समय खोकी न सोकी क्षयरोग पो हो कि ? भन्ने मान्यता अनुसार क्षयरोग पत्ता लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताउनुभयो ।

पुर्चौडी नगरपालिका र सूर्नया गाउँपालिकामा क्षयरोग मुक्त कार्यक्रम सञ्चालन भइरहेको स्रोत व्यक्ति जयसिंह बडालले बताउनुभयो । उपकरणसहित स्वास्थ्यकर्मीको टोली परिचालन भएर रोगी पत्ता लगउने काम भइरहेको उहाँले बताउनुभयो । एक जना क्षयरोगीले घरपरिवार र समुदायलाई सङ्क्रमित बनाउन सक्ने भएकाले रोगी पत्ता लगाउन ठुलो उपलब्धि मानिने उहाँले बताउनुभयो ।