• २४ चैत २०८१, आइतबार

एसइईको दौडभन्दा शैक्षिक सुधार महत्वपूर्ण

blog

मुगु समाचारदाता 

मुगु, चैत १३ गते । गत चैत ७ गतेदेखि सुरु भएको माध्यमिक तहको  एसइईलाई मर्यादित ढङ्गले सञ्चालन  गर्नलाई जिल्लाका सरोकारवाला निकायले अनुगमन गरेका छन् । 

गुणस्तरीय शिक्षा उत्पादन गर्नलाई पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने नियम बनाउनुपर्ने अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नागरिक समाजका अगुवा रूपबहादुर मल्लले बताउनुभयो । जिल्लाका यी निकायले माध्यमिक तहको   एसइईमा दौडधुप गर्नुभन्दा शिक्षकले विद्यार्थीको पढाइमा ध्यान दिँदा राम्रो हुने उहाँले बताउनुभयो । 

शिक्षामा सुधार गर्ने जिम्मेवारी सबैको रहेको बताउँदै समाजसेवी एवं वरिष्ठ पत्रकार विनोदकुमार मल्लले  अब पालिकाले सम्पूर्ण सरकारी कर्मचारी, जनप्रतिनिधिलगायतले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने बताउनुभयो । “शिक्षण सिकाइ र विद्यालयबाहिर रहेका विद्यार्थी तथा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन १० बर्से शिक्षा रणनीति योजना बनाउन लागेको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बताउनुभयो ।”

गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, प्रतिस्पर्धी, श्रम र उत्पादनप्रति जिम्मेवार जनशक्ति विकास गर्ने लक्ष्य रहेको नगरप्रमुख विष्णुकुमार भामले बताउनुभयो ।  शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख जयकुमार भ्यालका अनुसार कार्यालयमा जनशक्तिको अभावले जिल्लाका सबै  विद्यालयमा बेलाबखत अनुगमन गर्न नसकिएको बताउनुभयो ।