• १३ चैत २०८१, बुधबार

‘कृषि अनुदानमा हुने बदमासी अन्त्य भयो’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १३ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा बदमासी भए पनि अब त्यस्तो बदमासीको अन्त्य भएको बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले मङ्गलबार आयोजना गरेको कृषिमा लगानीसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दे कृषिमन्त्री अधिकारीले कृषि अनुदानमा हुने बदमासी अन्त्य भएको बताउनुभएको हो । 

हालसम्मको अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले अब सबै अनुदान पारदर्शी हुने र कसले केका लागि कति रकम लिएको हो सबैले थाहा पाउन सक्ने अवस्था बनेको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

विगत पाँच वर्षमा एक खर्ब पाँच अर्ब रुपियाँ कृषि अनुदानमा गएको उल्लेख गर्दै मन्त्री अधिकारीले विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान भने अहिले रोकिएको बताउनुभयो । 

कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले मात्र कृषि क्षेत्रमा राज्यले लिएको लक्ष्य पूरा हुन सक्ने बताउनुभयो ।