गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १३ गते । मधेश प्रदेशमा सवारीसाधनमा उच्चस्तरीय प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडान गरिने भएको छ । यातायात व्यवस्था विभागले बर्दीबास र लहानबाट वितरण तयारी गरेको छ । विभागले माग भएका नम्बर प्लेट प्रदेशमा पठाउन थालेको छ । तर कोशी प्रदेशबाहेक सात प्रदेशमा इम्बोस्ड नम्बर वितरण व्यवस्था भए पनि सेवाग्राहीको सङ्ख्या भने निकै कम रहेको विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागले २०७३ जेठमा पाँच वर्षमा २५ लाख इम्बोस्ड नम्बर वितरण गर्ने गरी चार अर्ब ६७ करोड रुपियाँमा सम्झौता गरेको थियो । २०८० मङ्सिरसम्म २५ लाख नम्बर प्लेट जडान गर्ने गरी सम्झौता थियो । तर हालसम्म करिब ६० हजार नम्बर प्लेट जडान भएका छन् । पहिलो चरणमा विभागले चार लाख नम्बर प्लेट लिएको थियो । विभागले अमेरिकाको डेकाटुर र बङ्गलादेशको टाइगर आइटीसँग २०७३ सालमा चार अर्ब ९५ करोड रुपियाँको सम्झौता गरेको थियो ।
नम्बर प्लेट जडान गर्न सेवाग्राही नै नआएपछि विभागले हालसम्म चार पटक सूचना प्रकाशन गरिसकेको छ । दैनिक ५० हजारसम्म इम्बोस्ड नम्बर उत्पादन गर्न सक्ने अवस्था रहे पनि माग भने छैन । विभागका सूचना अधिकारी गणेशमानसिं राईले भन्नुभयो, “सेवाग्राही आउँदैनन् । यसमा खासै नयाँ अपटेड हुन सकेको छैन । अनिवार्य नबनाउँदासम्म हुँदोरहेनछ ।”
इम्बोस्ड नम्बर प्लेट जडान गरेबापत विभागले दुईपाङ्ग्रे सवारीसाधनलाई दुई हजार ५०० र ठुला सवारीका लागि तीन हजार ६०० रुपियाँ शुल्क लिन्छ । जसबाट ७० प्रतिशत कम्पनीलाई भुक्तानी हुन्छ भने ३० प्रतिशत सरकारी राजस्वमा जान्छ ।
२०७४ भदौमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु भएपछि भाषा र प्रदेशको नामबारे विवाद भएको थियो । प्लेटमा नेपाली भाषाको अङ्क र अक्षर प्रयोग नभएको विषय सर्वोच्च अदालतमा पुगेको थियो । अदालतले २०७४ फागुनमा सवारीसाधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि प्लेटको वितरण रोकिएको थियो । २०७६ मङ्सिर २७ गते तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले उक्त रिट खारेज गरिदिएको थियो । खारेजपछि वितरण पुनः सुरु भएको थियो ।
नयाँ प्रविधियुक्त उच्च सुरक्षित इम्बोस्ड नम्बर प्लेटबाट सवारीसाधनको अवस्थाबारे जानकारी हुनुका साथै सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सहज हुने विभागको दाबी छ । राजस्व असुलीको अवस्थाबारे पनि तत्काल जानकारी हुन्छ । सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न पनि सहयोग पुग्ने प्रवक्ता पनेरूको भनाइ छ । साथै चोरीका सवारी पूर्ण नियन्त्रण हुने विभागको दाबी छ । इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि सवारीसाधनसम्बन्धी कागजात बोकिरहनु पर्दैन । नम्बर प्लेटमा राखिएको डिजिटल चिप्स आरएफआइडीले रिड गरेपछि सबै विवरणको चेकजाँच गर्न सकिन्छ ।