• १५ चैत २०८१, शुक्रबार

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

blog

महोत्तरीको खखना केन्द्रबाहिर एसइई परीक्षामा चिट पुर्‍याउन जम्मा भएका परीक्षार्थीका आफन्त । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, चैत १२ गते । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट चिटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

परीक्षा भइरहेको बेला बाहिरबाट चिट बोकेर केन्द्रमा प्रवेश गरेको आरोपमा समसी ५ पोखरभिन्डाका ४५ वर्षीया विनित झालाई खखना केन्द्रबाट तथा बलवा १ बञ्चौरीका २२ वर्षीय रोहित साहलाई धमौरा केन्द्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका झालाई इलाका प्रहरी कार्यालय गौशाला तथा साहलाई इलाका प्रहरी लोहरपट्टीले सोधपुछ गरिरहेको जिल्ला प्रहरीका डिएसपी एवं सूचना अधिकारी सन्तुलाल जयसवारले बताउनुभयो । 

अनुगमन टोलीले निगौल केन्द्रबाट परीक्षार्थीको साथबाट एक थान मोवाइल बरामद गरेको उहाँको भनाइ छ । त्यस्तै परीक्षामा अमर्यादित कार्य गरेको आरोपमा २ जना निरीक्षकमाथि कारवाही गरिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने नेतृत्वको परीक्षा अनुगमन टोलीले जनता मावि कोल्हुवा केन्द्रका निरीक्षक सीतेन्द्रराज शरणमाथि कारवाही गरेको हो । 

अनुगमनका क्रममा शरणले अमर्यादित कार्य गरेको भेटिएपछि परीक्षा अवधीभरका लागि निष्कासन गरिएको न्यौपानेले बताउनुभयो ।  

लगत्तै शिक्षा विकाश तथा समन्वय इकाई प्रमुख रेविका अमात्यको नेतृत्वमा रहेको अनुगमन टोलीले रामदेव जनता मावि भमरपुराका निरीक्षक रानाकुमार यादवलाई पनि परीक्षा अवधीभरको लागि निष्कासन गरेको छ ।