• १५ चैत २०८१, शुक्रबार

रणनीतिक ट्रान्जिट बन्दै बर्दीबास : मन्त्री भण्डारी

blog

बर्दीबास नगरपालिको आयोजना गरेको ‘दिव्य हजार दिन’ कार्यक्रममा मन्त्री भण्डारीलगायतका सहभागी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, चैत १२ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले भर्खरै सम्पन्न राष्ट्रिय श्रम रोजगार सम्मेलनबाट प्राप्त निषकर्षबाट सरकारले आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरेको बताउनुभएको छ । उहाँले यो लक्ष्य पूरा गर्न स्वदेशी रोजगारदातासँगको सहकार्यमा आन्तरिक रोजगार सृजना गर्न सरकारले काम अघि बढाएको जनाउनुभयो । 

स्थानीय तह निर्वाचनबाट निर्वाचित भएको हजार दिन पुगेको अवसरमा बर्दीबास नगरपालिकाले आज नगर क्षेत्रमा आयोजना गरेको ‘दिव्य एक हजार दिन’ कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री भण्डारीले जनतामा सेवा, सुशासन र गणतन्त्रको अनुभूति गराउन रोजगार प्रवद्र्धन दशकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास दिलाउनुभयो । उहाँले मुलुकमै पहिलोपटक आयोजना गरिएको बर्दीबास नगरपालिकाको ‘दिव्य हजार दिन’ कार्यक्रम अरुका लागि पनि उदाहरणीय भएको प्रतिक्रिया दिनुभयो । 

मन्त्री भण्डारीले सडक सञ्जाल र निर्माणाधीन विद्युतीय रेलवे जङ्नले पारवहन महत्व थप्दै गएको बर्दीबासलाई निर्माणको चरणमा रहको मेगा प्रोजेक्ट तामागढी–खुर्कोट–रामेछाप–भिट्ठामोड सडकले पनि बर्दीबास हुँदै चीन र भारतलाई जोड्ने भएकोले यो नगरपालिकाले आफ्नो दायित्व र भूमिकालाई दूरदर्शी ढङ्गमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।  

मन्त्री भण्डारीले भन्नुभयो, ‘यो नेपाल हुँदै चीन र भारतलाई जोड्ने सबैभन्दा छोटा दूरीको बाटो भएकोले यसको रणनीतिक महत्व बढेको हो । प्राथमिकतामा रहेको यो मेगा प्रोजेक्टको काम पनि सुरु भइसकेकोले यो मार्गले पार्ने सक्ने प्रभावको आकलन गरेर बर्दीबास नगरपालिकाले विकास र सुशासनका भावी मार्गचित्र कोर्न सक्नुपर्छ ।’

कार्यक्रममा बर्दीबास नगरप्रमुख प्रह्लाद क्षेत्रीले आफुहरु निर्वाचित भएको हजार दिनको अवधिमा बर्दीबास नगरपालिकाले जनतालाई प्राथमिकतामा राखेर काम गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पाँचवर्षे कार्यकालमा जम्माजम्मी एक हजार ८२५ दिन हुन्छ । यसैबिच हजार दिनको अवधिमा नगरपालिकाले कृषि, पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र सुशासन लगायतका क्षेत्रमा गरेका उपलब्धिलाई मुलुकका ७३४ वटै स्थानीय तहसँग तुलनात्मक समीक्षा साथ मूल्याङ्ककन गरिदिन सबैमा अनुरोध गर्दछु ।’

उहाँल भन्नुभयो, ‘विकासका समग्र सूचकाङ्कलाई दिगो विकाससँग जोड्दै बर्दीबासलाई उत्कृष्ट नगरको पहिचान दिन हामीले विकास निर्माण र सुशासनको निरन्तरतालाई जारी राखेका छौं ।’