ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत १२ गते । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा पर्ने चारवटा ठुला जोखिमयुक्त पहिरो नियन्त्रण, संरक्षण तथा व्यवस्थापन गर्न समस्या भएको छ ।
राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी खण्डमा पर्ने चार ठुला पहिरो व्यवस्थापन गर्न करिब ३० करोड रुपियाँ बराबरको लागत अनुमानसहित ठेक्का आह्वान गरेको थियो । आयोजनाले चालु आर्थिक वर्षमा चमेरे, सिरुबारी, गुइठेभिर र खामभित्ताको पहिरो नियन्त्रण योजना अघि बढाएको थियो ।
भौगोलिक जोखिमका कारण पहिरो नियन्त्रण गर्न नसकिने भन्दै एउटामा बाहेक अन्य तीनवटा पहिरो नियन्त्रण योजनाको ठेक्का नलागेको आयोजनाका इन्जिनियर विष्णु चापागाईले बताउनुभयो । उहाँका अनुसार रघुगंगा गाउँपालिका ३ चमेरेमा पहिरो नियन्त्रण योजनाका लागि मात्र तीन करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ ।
‘‘सिरुबारी र गुइठेभिर पहिरो नियन्त्रण योजनाका लागि १०÷१० करोड र खामभित्ताका लागि सात करोड रुपियाँ बराबरको लागत अनुमान गरी ठेक्का निकालेका थियौं ।’’ आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी चापागाईले भन्नुभयो, ‘‘बेनी–जोमसोम–कोरला सडकमा पर्ने यी ठुला पहिरोका कारण बर्खायममा यातायात सञ्चालन गर्न निकै समस्या छ । पहिरो नियन्त्रण गर्न आयोजनालाई निकै चुनौती देखिएको छ । अध्ययनपछि पहिरो नियन्त्रणका लागि ठेक्का लगाउन सूचना प्रकाशित गरेका थियौं, तर ठेक्का सम्झौता हुन सकेन । फेरी अर्को सूचना निकाल्ने प्रक्रियामा छौं ।’’
आयोजनाले बेनी–घाँसा खण्डमा पहिचान गरिएका अति जोखिमयुक्त पाँच वटा पहिरोमध्ये गत वर्ष बैसरी पहिरोमा ‘रक एङ्करिङ’र बायोइन्जिनियरिङ विधिबाट पहिरो रोकथाममा गरेको थियो ।
आयोजनाले गत वर्ष जियोलोजिस्टसमेत २० जना विभिन्न विषयका विज्ञ परिचालन गरी बेनीदेखि मुस्ताङको घाँसासम्मका पहिराको भौगर्भिक अध्ययन गरेको थियो । विज्ञहरूको उक्त टोलीले बेनी–लेतेसम्मको ३८ किमि खण्डमा पर्ने बैसरी, सिरुवारी, गुइठे र खामभित्तासहित नौ वटा पहिरोलाई अति जोखिमपूर्ण भनेको थियो ।
अध्ययन टोलीले जोखिमयुक्त पहिरो नियन्त्रण गर्न होरिजेन्टल ड्रेनदेखि रिटेनिङ वाल, ब्रेस्ट वाल, क्यास्केटिङ वाल, रक एङ्करिङ, स्वायल नेल, बायोइन्जिनियरिङ समेत गरेर पहिरो व्यवस्थापन तथा नियन्त्रणको गर्न सकिने सुझाव दिएको आयोजनाले जनाएको छ ।
टोलीको सुझाव अनुसार पहिरो रोकथामका लागि आयोजनाले ठेक्का आह्वान गरेको आयोजनाका इन्जिनियर चापागाईले बताउनुभयो । बर्खायामा पहिरोका कारण बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध हुँदा मुस्ताङ भ्रमणका लागि जाने पर्यटक, भक्तजन लगायत सर्वसाधरणहरुले सास्ती भोग्नुपरेको छ ।