• ६ जेठ २०८१, आइतबार

प्रक्रिया पूरा नहुँदा तातोपानी भन्सारमा थन्कियो ५० टन मल

blog

चीनबाट खरीद गरी ल्याइएको ५० टन युरिया मल भन्सार प्रक्रिया नहुँदा तातोपानी सुख्खा बन्दरगाहमा । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, जेठ २० गते ।
व्यापारीले चीनबाट खरीद गरी ल्याएको ५० टन युरिया मल तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको गोदाममा २० दिनदेखि थन्किएको छ ।

भन्सार प्रमुख नारद गौतमले उक्त मलको भन्सार प्रक्रिया गर्न कोही नआउँदा ५० टन मत त्यतिकै गोदाममा थन्किरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ६० दिनसम्म भन्सार प्रक्रिया गर्न कोही नआएमा भन्सार नियमनुसार उक्त मल जफत हुने प्रावधान छ । यसबारे सम्बन्धित कम्पनीलाई पनि जानकारी गराइसकिएको गौतम बताउनुहुन्छ ।


‘‘हामी मलको भन्सार प्रक्रिया सकेर तुरुन्तै पठाउन तयार छौं, तर सम्बन्धित कम्पनी भन्सार प्रक्रिया गराउन आएको छैन ।’’ उहाँले भन्नुभयो । यति लामो समयसम्म मल भन्सार प्रक्रिया गर्न कोही नआएका कारण मल अलपत्र अवस्थामा छ ।

मल आयातका लागि सिल्क ट्रान्सपोर्ट ठेक्का पाएको थियो । ट्रान्सपोर्टले यसअघि ५३९ मेट्रिक टन मल भन्सार प्रक्रिया सकेर राजधानी पु-याएको थियो । ग्लोबल टेण्डरपछि सरकारले उक्त कम्पनीलाई चीनबाट १० हजार मेट्रिक टन आयातका लागि ठेक्का दिएको थियो ।

सिल्क कम्पनीका अध्यक्ष रमेश श्रेष्ठले केही दिनमा अरु थप मल आयात हुने हुँदा ढुवानी गर्ने जानकारी दिनुभएको छ । तर किसानहरुले मल नपाएर खेतीबालीमा हाल्न पाएका छैनन् ।

सुनकोशी गाउँपालिका–४ की कृषक गीता सार्कीले मल नपाउँदा मकै पहेँलो भएर फल नलाग्ने अवस्थामा पुगेको चिन्ता व्यक्त गर्नुभयो ।