• ७ वैशाख २०८१, शुक्रबार

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा : मन्त्री कार्की

blog

गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २० गते ।
नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकता रहेको बताउनुभएको हो । साथै, सरकारले यसलाई बढावा दिँदै आएको पनि भनाइ पनि मन्त्री कार्कीको छ ।

यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समेट्ने मन्त्री कार्कीले बताउनुभयो । यस कार्यक्रमले डिजिटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उहाँको विश्वास छ ।
मन्त्री कार्कीले भन्नुभयो, ‘‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छु । यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ, यो कार्यक्रम अवधिभर मात्र नभएर सधैंभरि कायम गर्नुपर्छ ।’’


उहाँले यस कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रुपान्तरण गर्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमबाट समाज प्रत्यक्षरुपमा लाभान्वित हुने छ भन्नुभयो ।

यस्तै, सूचना प्रविधिको विकासबिना मुलुकको विकाससमेत असम्भव भएको बताउँदै उहाँले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताउनुभयो ।

यसैगरी, दूर दराजका क्षेत्रमा समेत सूचना प्रविधि पहुँच पु-याउन सरकारले सहयोग गर्ने जानकारी दिँदै मन्त्री कार्कीले सूचना प्रविधिको पहुँच सबै नागरिकमा पु-याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको स्पष्ट पार्नुभयो ।

उहाँले यसलाई अझ सस्तो, गुणस्तीय बनाउन पनि सरकार सकारात्मक रहेकाले सूचना प्रविधिको प्रयोग बढाउने विषयलाई सरकारको उच्च प्राथमिकता राखिएको पनि बताउनुभयो ।