• १३ चैत २०८१, बुधबार

गुल्मीमा २४ जना स्थायी शिक्षक नियुक्ति

blog

गुल्मीमा प्राथमिक तहका स्थायी शिक्षकलाई नियुक्ति पत्र प्रदान गरिँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, चैत ११ गते ।
गुल्मीमा प्राथमिक तहका २४ जना स्थायी शिक्षक नियुक्ति भएका छन् । जिल्लाका लागि शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भएका स्थायी शिक्षकहरूलाई नियुक्ति गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भएका शिक्षकहरूलाई नियुक्ति पत्र प्रदान गरेको छ । नियुक्त हुनुभएका शिक्षकहरू १८ जना महिला र छ जना पुरुष हुनुहुन्छ ।

एक जना मधेशी कोटाको बाहेक सबै यस जिल्लाका हुनुहुन्छ । मधेशी कोटाको शिक्षक पनि यस जिल्लामा विगत पाँच वर्षदेखि निरन्तर शिक्षण पेशामा कार्यरत हुनुभएको पाइएको छ । स्थायी शिक्षक नियुक्ति पत्र प्रदान गरेसँगै शिक्षकहरूका लागि सेवा प्रवेश तालिम समेत सुरु गरिएको हो । शिक्षण पेशासँगै विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित र प्रभावकारी बनाउन तालिम प्रदान गरिएको इकाई प्रमुख थानेश्वर घिमिरेले बताउनुभयो । विद्यालयलाई शैक्षिक गुणस्तरमा अब्बल बनाउन नवनियुक्त शिक्षकहरुबाट सहयोग पुग्ने अपेक्षा लिएको उहाँले बताउनुभयो ।

शिक्षकहरु आफ्नो कर्मप्रति पूर्णरुपमा बफादार भएर लाग्न जरुरी छ । प्राथमिक तहलाई विद्यालय शिक्षाको आधारको रुपमा लिइने हुँदा शिक्षालाई राम्रो बनाउन सबै शिक्षकहरू लाग्नुपर्ने नेपाल शिक्षक महासंघका अध्यक्ष हिरा सिंह सराङ्कोटीले बताउनुभयो । शिक्षण पेशालाई अब्बल बनाउनुका साथै विद्यालयको शिक्षणमा गुणस्तर ल्याउन सबैको भूमिका महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । स्थायी हुनुभएका शिक्षकहरु स्थायी नियुक्तिसम्म जसरी मेहनत गरेर लाग्नुभयो त्यसरी नै शिक्षण पेशालाई अब्बलसँगै शिक्षण सिकाइ क्रियाकलापमा पनि निकै मेहनत गर्नुपर्ने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले बताउनुभयो ।

शिक्षकहरू कसैले पनि गुनासो गर्न नहुने भन्दै विद्यालयमा प्रवेश गरेपछि विद्यार्थीको भविष्यको विशेष ख्याल गरी आफ्नो कर्मलाई अरु शिक्षकहरूको भन्दा फरक बनाएर लैजान जरुरी रहेको उहाँले बताउनुभयो । शिक्षकले आफ्नो अध्ययनलाई पनि निरन्तर दिनुपर्ने हुँदा हरेक कुरासँग शिक्षक जानकारसँगै अपडेट हुन जरुरी रहेको भन्दै समन्वय प्रमुख खत्रीले विद्यार्थीमा अन्तरनिहित क्षमता हुने भएको हुँदा कक्षाकोठाका प्रत्येक विद्यार्थीलाई शिक्षकले पढ्न आवश्यक रहेको बताउनुभयो । विद्यार्थी मात्र होइन शिक्षक स्वयंले पनि अनुशासनलाई विशेष ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । शिक्षक सेवा आयोगको परीक्षाबाट यस जिल्लामा उत्तीर्ण भएका २४ जना स्थायी शिक्षकहरूलाई यहाँका विभिन्न पालिकाका लागि नियुक्ति पत्र प्रदान गरिएको हो ।

रेसुङ्गा एक जना र मुसिकोट नगरपालिकाका लागि पाँच जना, छत्रकोट सात जना, गुल्मीदरबार तीन जना, धुर्कोट एक जना, इस्मा चार जना, सत्यवती दुई जना र मदाने गाउँपालिकाका लागि एक जनालाई नियुक्ति पत्र प्रदान गरिएको छ । नियुक्ति भएका शिक्षकहरूलाई आवश्यकताको आधारमा पालिकाले ती शिक्षकलाई विद्यायलयमा पदस्थापना गर्ने शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक रामप्रसाद पन्थीले बताउनुभयो ।