काठमाडौँ, चैत १० गते । विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठक नेपालमा हुने भएको छ ।
यही जेठ २१ र २२ गते काठमाडौँमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दुत टीएस ठकुरीले बताउनुभयो । कुनैपनि विधाको विश्वव्यापी फेडरेसनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवत: यो पहिलो हो ।
यसअघि एशियाली निकायसम्मका बोर्ड बैठक तथा कंग्रेस नेपालमा आयोजना भएका थिए । निरन्तर लबिङ पश्चात एम्सको बोर्ड बैठक नेपालमा होस्ट गर्न सम्भव भएको एम्स दुत रहेका नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले बताउनुभयो ।
एम्सले संसारभर वल्र्ड एथ्लेटिक्ससँग समन्वय गरेर रोड रेसहरुको नियमन तथा प्रवद्र्धन गर्दछ । एम्सको सन्जाल एक सय बीस देशमा छ । करिब ४ सय ५० रोड रेस आयोजक यसका सदस्य छन् । संसारभर रोड रेसको मापन र मान्यता एम्सले नै दिने गर्दछ ।
एम्सको बोर्ड मिटिङका लागि आतिथ्यता गर्न लागेकोमा नेपालप्रति एम्सका प्रेसिडेन्ट पाको बोराओले आभार प्रकट गर्नुभएको छ । एम्सको बोर्डमा युरोप, अमेरिका, जापान, थाइल्याण्ड लगायत दर्जन राष्ट्रको प्रतिनिधित्व रहेको छ ।