• १० चैत २०८१, आइतबार

बालमन्दिर सटरको भाडा रेडक्रसलाई

blog

तम्घासमा रहेको करिव पाँच दशक पुरानो बालमन्दिर । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुंगा, चैत ९ गते । बालमन्दिरमा थुप्रै राजनीतिक कार्यक्रम हुन्छन् । थुप्रै संगठनका नयाँ नेतृत्व बालमन्दिरको छहारीमा हुन्छन् । तर बालबालिकाको अक्षर चिन्ने मन्दिर अर्थात बालमन्दिरका दुःख बुझ्ने कोही भएनन् । बालमन्दिरको सटर भाडा पनि रेडक्रसलाई जानेगरेको छ ।  

बालमन्दिरमा नगरपालिकाबाट दुई शिक्षिका र कार्यालय सहयोगी हुनुहुन्छ । बाल संगठनले राखेका पनि दुई शिक्षिका र आया हुनुहुन्छ । बालमन्दिरबाट तलव खाने तीन जना भएकाले मासिक पारिश्रमिक ४३ हजार बढी आउँछ । बाल संगठनबाट नियुक्त भएका शिक्षिका र आयाले आर्थिक श्रोतकै कारण न्यूनतम पारिश्रमीक समेत पाउनुभएको छैन् । 

नेपाल बाल संगठन गुल्मीले बालमन्दिर सञ्चालन गरेको छ । बालमन्दिरको प्रमुख आर्थिक श्रोत सटर भाडा हो । ठूला र राम्रा सटरको पैसा रेडक्रसले पाउने अनौठो निर्णय गरिएको छ । सरदरमुकामको मुटु बालमन्दिरको सटर भाडा निकै कम रहेको छ । २०७७ सालमा तोकिएको भाडा अहिलेसम्म हेरफर भएको छैन् । 

सटर मासिक पाँच हजार पाँचसय रुपियाँ भाडा रहेको छ । बालमन्दिरका १० वटा सटर रहेका छन् । सबै सटरको समान भाडा छैन् । कम मूल्यका सटरको भाडाले मात्र बालमन्दिरको खर्च पुग्दैन् । सबै सटर भाडामा जाँदा मासिक ५० हजार सात सय रुपियाँ आम्दानी हुन्छ । 

मासिक पारीश्रमिक दिएर रहेको थोरै पैसाले कार्यालयमा केही गर्न सक्ने अवस्था नरहेको प्रध्यानाध्यापक सुस्मा श्रेष्ठले गुनासो गर्नुभयो । बालमन्दिरको सटरको भाडा लामो समयदेखि रेडक्रसलाई मासिक १४ हजार रुपिँया बुझाउँदै आउनुभएका व्यावसायी तेजेन्द्र श्रेष्ठले आफुहरुले व्यावसाय गर्नभन्दा पहिलेदेखि नै सोही निर्णयमा चलेको बताउनुभयो । 

रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद श्रेष्ठले तत्कालीन समयमा सामाजिक संस्थाहरु सञ्चालनका लागि निकै समस्या भएकाले गरिएको पुरानो निर्णय भएको बताउनुभयो । उहाँले आफूहरुको पनि आर्थिक श्रोत नभएकाले निर्णय पुनर्बिचार गर्दा अप्ठ्यारो हुने बताउनुभयो । 

बालमन्दिर बजारको मुटुमा भए पनि पर्याप्त जग्गा र खेल सामग्रीको अभाव छ । बालमन्दिर भवन जिर्णोद्वारको प्रतिक्षामा छ । त्यही ठाउँमा भाषण ठोक्ने नेताको ओहदा फेरिँदा बालमन्दिर ओझेलमा परिरहेको जिल्ला बालसंगठन गुल्मीका सभापति केशरबहादुर थापाले गुनासो गर्नुभयो । 

‘बालमन्दिर आर्थिक संकटमा छ । राम्रा सटरको भाडा रेडक्रसले पाउने धेरै पुरानो निर्णय रहेछ’ उहाँले भन्नुभयो, ‘बजेट नभएका कारण शिक्षक कर्माचारीलाई समेत न्यूनतम पारीश्रमिक दिन सकिएको छैन् ।’ उहाँका अनुसार बालमन्दिरको एक रोपनी १४ आना जग्गा छ । 

जग्गा बढाएर थप संरचना विकास गर्ने सोँच समितिको भए पनि आर्थिक श्रोत छैन् । उहाँले बालमन्दिरको राम्रो तारबार नभएका कारण सडक बालबालिकाभित्र पसेर क्षति गर्न थालेकाले गाह्रो भइरहेको बताउनुभयो । थापाको नेतृत्वमा २०७७ सालमा नयाँ कार्यसमिति बनेको थियो । 

त्यसपछि नगरबाट र प्रदेशबाट बिनियोजना गरिएको करिव २५ लाख बालबालिकामैत्री शैचालय, शैक्षिक सामग्री खरिद, कक्षाकोठा, बैठक कक्ष व्यावस्थापन र मर्मत, कम्प्युटर, प्रोजेक्टर खरिद लगायतको काम गरिएको जिल्ला बाल संगठन गुल्मीका सभापति थापाले बताउनुभयो ।

बालमन्दिरमा गतबर्ष ६४ जना बिद्यार्थी भर्ना भएका थिए । अहिले ६१ जना भर्ना भएका छन् । प्लेग्रुप, नर्सरी र एलकेजीसम्म बालबालिका बालमन्दिर रहने बालमन्दिरको प्रध्यानाध्यापक सुष्मा श्रेष्ठले बताउनुभयो । बालमन्दिरमा बालबालिका आउने–जाने भइरन्छ । ठुला खेल मैदान, सुन्दर कक्षा कोठा, शिक्षिका तथा आयाको उत्कृष्ट कार्य सम्पादनको कारण बालबालिकाको आकर्षण बढिरहेको छ । 


प्लेग्रुपका बालबालिका बिहान १० बजेबाट २ बजेसम्म र नर्सरी तथा एलकेजीका बालबालिका ३ बजेसम्म बालमन्दिर बस्छन् । बालमन्दिरले प्रत्येक नयाँ बिद्यार्थीबाट दुई हजार रकम उठाउँछ । बालमन्दिरबाट प्रत्येक बिद्यार्थीलाई झोला र नगरबाट खाजाको व्यावस्थापन गरिएको छ । खाजा अपर्याप्त हुँदा आफूहरुले पनि खुवाउने श्रेष्ठले बताउनुभयो । 

केन्द्रिय बाल संगठनबाट जिल्ला तहमा कुनै सहयोग गर्ने अवस्था छैन् ।  बालमन्दिरमा अहिलेसम्म तीन जनाले नेतृत्व गर्नुभएको छ । जिल्ला बाल संगठन गठन भएपछि २०३७ सालमा पदमप्रसाद पन्थी पहिलो, २०५४ सालबाट २०७७ सालसम्म नन्दराम भुसाल र २०७७ सालबाट केशरबहादुर थापाको नेतृत्वमा जिल्ला बालसंगठन गठन गरिएको छ । 

बाल संगठनले बालमन्दिरमा बालबालिका हेरचाह गर्ने, आधारभूत शिक्षा प्रदान गर्ने र समाजमा अनाथ बालबालिका भए संरक्षणका लागि केन्द्रमा सिफारिस गर्ने गरिरहेको जिल्ला बाल संगठन गुल्मीका सभापति केशरबहादुर थापाले बताउनुभयो ।