काठमाडौं, चैत १० गते । नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला अल शाम्सीले सामाजिक एकता र सद्भाव बलियो समाज निर्माणको आधारस्तम्भ भएको बताउनुभएको छ
उहाँले रमजान महिनाको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित इफ्तार कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहितका अतिथिहरूलाई स्वागत गर्दै सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न यूएईको प्रयासबारे जानकारी गराउनुभएको थियो ।
राजदूत अल शाम्सीले भन्नुभयो, “२ डिसेम्बर १९७१ मा स्थापना भएदेखि नै सामाजिक एकता यूएईको प्राथमिकतामा छ। बलियो र एकताबद्ध समाज नै मानवीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय लक्ष्यहरू हासिल गर्न सक्षम हुन्छ।” उहाँले यूएई शताब्दी २०७१ को लक्ष्य प्राप्त गर्न आगामी आधा शताब्दीमा सामाजिक एकताको भूमिकालाई अझ बलियो बनाउन जोड दिनुभयो ।
यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले २०२५ लाई ‘समाज वर्ष’ को रूपमा घोषणा गरेको उल्लेख गर्दै उहाँले यस अभियानले पारिवारिक सम्बन्ध, सांस्कृतिक सम्पदा संरक्षण र सामुदायिक सेवामा सहभागिता बढाउने बताउनु भयो । “यो अभियानले नागरिकलाई सामाजिक सेवामा सक्रिय रूपमा संलग्न हुन प्रेरित गर्छ, जसले साझा जिम्मेवारीको महत्त्वलाई परिभाषित गर्दछ,” उहाँले भन्नुभयो ।
यूएईले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्ध बलियो बनाउन पनि विभिन्न आर्थिक, शैक्षिक र राजनीतिक कार्यक्रमहरू अघि सारेको राजदूतको भनाइ छ ।
उहाँले सामाजिक, सांस्कृतिक र आर्थिक पहलकदमीमार्फत एकताबद्ध समाजले समस्याहरू समाधान गर्दै समृद्धि हासिल गर्न सक्ने धारणा राख्नुभयो । उहाँले रमजान महिनामा गरिएको रोजा र प्रार्थनाहरू स्वीकार होस् भनी शुभेच्छा पनि व्यक्त गर्नुभयो ।