• ८ चैत २०८१, शुक्रबार

कक्षा ५ का विद्यार्थीमाथि धारिलो वस्तु प्रहार : आठ टाँका लगाइयो

blog

घाइते कमला नगरपालिका–३, लगमाका १२ वर्षीय दीपेश मण्डल

धनुषा, चैत ८ गते । धनुषाको नमुना उच्च माध्यमिक विद्यालय, गिद्धा बेलापट्टीमा कक्षा ५ मा अध्ययनरत दुई विद्यार्थीबीचको हाँसी मजाकले अप्रत्याशित दुर्घटना निम्त्याएको छ। विद्यालय छुट्टीपछि बाहिरिने क्रममा कमला नगरपालिका–३, लगमाका १२ वर्षीय दीपेश मण्डलमाथि धारिलो वस्तु प्रहार भएको छ।

प्राप्त जानकारीअनुसार, दीपेशमाथि सोही कक्षाका विद्यार्थी विदेह नगरपालिकाको बफै निवासी १२ वर्षीय विकास मण्डलले ज्यामिती बक्समा रहेको धारिलो सामानले घोचेका थिए। विद्यालयका प्रधानाध्यापक पवन मण्डलले भन्नुभयो, ‘‘झगडा भएको पनि होइन, छुरा प्रहार भएको पनि होइन। विद्यालय छुट्टी भएपछि हाँसी मजाक गर्ने क्रममा ज्यामिती बक्समा रहेको धारिलो सामानले घोचिएको हो।’’

दीपेशको पाखुरा तल कोखामा चोट लाग्दा आठ टाँका लगाइएको छ। विद्यालयकै नजिक रहेको क्लिनिकमा प्रारम्भिक उपचारपछि दीपेशलाई थप उपचारका लागि जनकपुर रेफर गरिएको छ।

यद्यपि, दीपेशका काका धनिराम मण्डलका अनुसार, कक्षामा सामान्य विवाद भएपछि विकासले जानाजान धारिलो वस्तु प्रयोग गरेका थिए।  स्थानीय राजन दासका अनुसार  घटनापछि विकास फरार छन्।