• २४ चैत २०८१, आइतबार

सौभाग्यशाली मोर्गन

blog

सन् १९९८ मा अस्ट्रेलियाका बिल मोर्गन जीवनमरणको अवस्थामा थिए । एक कार दुर्घटनामा परेर अस्पताल भर्ना भएका मोर्गनलाई अस्पतालमै भयङ्कर हृदयाघात पनि भयो । जस कारण चिकित्सकले मोर्गनलाई ‘क्लिनिकल डेड’ घोषणा गरे किनभने उनको मुटु बन्द भइसकेको थियो र उनले साससमेत लिन छाडेका थिए । 

चिकित्सकले मुटुको धड्कन फर्काउन धेरै जोडतोड गरे र १४ मिनेटपछि मोर्गनको मुटु हल्का चल्न थाल्यो तर चिकित्सकले उनको जीवनमा सम्भावना चाहिँ देखेनन् । मोर्गन ‘कोमा’ मा थिए र उनमा होस आउने कुनै लक्षण थिएन । सबैले आशा मारिसकेका थिए र दुई हप्ता भइसकेको थियो । मोर्गनको शरीरमा कुनै हलचल थिएन । यतिसम्म कि उनको अन्त्येष्टिको तयारीसमेत गरिसकिएको थियो तर ३७ वर्षीय मोर्गनले सबैलाई चकित पारे, उनी होसमा आए । अस्पतालले मोर्गन होसमा आउनुलाई ‘चिकित्सा चमत्कार’ भन्यो ।   

मोर्गनले ‘चिकित्सा चमत्कार’ मात्र गरेनन् एक वर्षपछि दुई पटक चिट्ठा जितेर सबैलाई स्तब्धसमेत पारे । यस कारण मोर्गनलाई विश्वको सर्वाधिक भाग्यमानी मानिस भनिन्छ । अस्पतालबाट फर्केको एक वर्षपछि मोर्गनले दुई पटक ‘स्क्रेच’ चिट्ठामा बाजी मारेर लाखौँ डलर जिते । 

मोर्गनका लागि उनको ३८ औँ जन्मदिन पहिले जीवन सहज थिएन । उनी अस्ट्रेलियामा ट्रक चलाउँथे । आफ्नी श्रीमतीसहित ट्रकसँगै जोतिएको सानो घरमा रहन्थे र श्रमबापत पाउने रकमले उनी गुजारा गर्दथे । जीवनयापनका लागि उनको सङ्घर्ष एक पक्ष थियो भने जीवनमरणको अवस्थामा गर्नु परेको सङ्घर्ष अर्को पक्ष थियो । नराम्रोसँग कार दुर्घटनामा परेर उनी गम्भीर घाइते भए र उनको मुटुको अवस्था झनै खराब भयो । अस्पतालमा चिकित्सकले मोर्गनलाई लागेको चोटपटकको उपचार गरिरहँदा औषधिको एलर्जी भएर उनलाई हृदयाघात हुन पुग्यो । चिकित्सकले १४ मिनेट ३८ सेकेन्डसम्म भरमग्दुर प्रयास गरी मोर्गनको मुटु पुनः चलाउन खोजे । मोर्गनको मुटु बन्द भइसकेको थियो र परिवारका सदस्यलाई अस्पतालले भन्यो, “हामी मोर्गनलाई ‘लाइफ सपोर्ट’ बाट हटाउँदै छौँ ।” 

जसै चिकित्सकले मोर्गनलाई ‘लाइफ सपोर्ट’ बाट निकाल्न खोजे उनको मुटु सुस्तरी पुनः धड्कन सुरु भयो । मुटु चल्न थाले पनि चिकित्सकले उनको जीवनको आशा मारिसकेका थिए ।

मोर्गनले दिएको जानकारी अनुसार मुटु चले पनि चिकित्सकले उनको दिमाग मरिसकेको भनेर मेसिनबाट झिक्न खोजे तर उनकी बहिनीले त्यसो गर्न दिइनन् । अनि अल्फ्रेड अस्पतालका एक विशेषज्ञले कोमामा रहेका मोर्गनलाई आफ्नो अस्पतालले लैजाने र होसमा ल्याउन अनेक परीक्षण गर्ने बताए । कुनै एक परीक्षणले काम ग¥यो र कोमामा गएको १५ दिनपछि मोर्गनले स्थापित चिकित्सा मान्यता खारेज गर्दै आँखा खोले । मोर्गनलाई अझै पनि मुटुको गम्भीर समस्या थियो र पनि उनले राम्रोसँग स्वास्थ्यलाभ गरेर घर फर्किए । 

त्यसपछि आफ्नो बैङ्क खाता सन्तुलित पार्न सकिन्छ भनी मोर्गनले एक वर्षसम्म ‘ट्याट्सलोटो’ र पाँच डलरको स्क्रेच टिकट खरिद गरे । उनले खासै केही हात पारेनन् तर उनले त्यसपछि एक दिन अचानक तीस हजार डलर पर्ने टोयटा कोरोला कार चिट्ठामा जिते । 

मोर्गनले कार जितेको जानकारी जब सञ्चारमाध्यमलाई भयो उनीहरूले चिट्ठा जित्दाको अवस्था पुनरावृत्ति गरेर समाचार बनाउन खोजे । यस कारण सञ्चार माध्यमले मोर्गनलाई बोलाएर भने, “के तपाईं त्यही स्थानमा आउन सक्नुहुन्छ, जहाँ तपाईंले चिट्ठा किन्नु भएको थियो र टेलिभिजनमा प्रत्यक्ष प्रसारणका लागि चिट्ठा जितेको अभिनय गर्न सक्नुहुन्छ ?” 

पछि मोर्गनले प्रतिक्रिया दिएका थिए, “जबसम्म पत्रिका र टेलिभिजन स्टेसनले यसको सुइँको पाएनन् तबसम्म मलाई यो ठूलो कुरा लागेको थिएन । उनीहरूले ठाने यो एक भाग्यशाली कथा हो । यसैले यो यसरी नै सुरु भयो । म त्यहाँ समाचारदाताकहाँ गएँ र उनीहरूले म पाँच डलरको स्व्रmेच चिट्ठा किन्न गइरहेको दृश्य खिच्न थाले । एक जना क्यामरामेनले भने, “यो राम्रो दृश्य हुने छ । हामीले यसलाई कोर्न तपाईंलाई भन्ने छौँ ।”

निःसन्देह मोर्गनले यस स्क्रेच चिट्ठामा हजारौँ डलर जित्ने सम्भावना १० लाखमा एक मात्र थियो तर भाग्य अर्कै थियो । प्रत्यक्ष टेलिभिजन प्रसारण भइरहँदा जसै मोर्गनले स्क्रेच चिट्ठा कोरे उनलाई तत्काल त्यसमा केही विशेष भएको भान भयो । मोर्गनले अविश्वास गर्दै भनेका थिए, “मैले साढे दुई लाख डलर जितेँ । म मजाक गरिरहेको छैन । मैले भरखरै साढे दुई लाख डलर जितेँ ।”

साँच्चै प्रत्यक्ष प्रसारण हेरिरहेकाहरूले त सुरुमा ठाने यो एक राम्रो अभिनय हो तर मोर्गन भने मैले नयाँ कार जितेको होइन, साढे दुई लाख डलर जितेको छु । 

मोर्गनले सबैलाई आफ्नो चिट्ठा टिकट देखाए र त्यसपछि उनी रुन थाले । अनि मात्र दर्शकलाई महसुस भयो उनले वास्तवमै लाखौँ डलर जिते, उनी वैध हुन् । जब उनको टिकटको जाँच गरियो त्यो वैध भएको थाहा भयो र अनि क्यामरामा त्यस टिकटलाई देखाइएको थियो ।

मोर्गनले अन्त्यमा प्रतिक्रिया दिए, “मैले सोचेँ मलाई अर्को हृदयाघात भएको छ ।” 

–युवामञ्च