• ११ मंसिर २०८२, बिहिबार

दक्षिण अफ्रिकालाई मियामी जी-२० शिखर सम्मेलनमा सहभागी नदिने ट्रम्पको घोषणा

blog

वेस्ट पाम बिच (फ्लोरिडा), मङ्सिर ११ गते । राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई आगामी वर्ष मियामी नजिकै आयोजित हुने जी-२० शिखर सम्मेलनमा सहभागी हुन नदिने घोषणा गर्नु भएको  छ । यस वर्षको जोहानेसबर्ग शिखर सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डलसँग गरिएको व्यवहारका कारण देशलाई दिइँदै आएका सबै भुक्तानी र अनुदान रोकिने उहाँले बताउनुभयो ।

ट्रम्पका अनुसार दक्षिण अफ्रिकाले गत सप्ताहान्त सम्पन्न शिखर सम्मेलनमा अमेरिकी सरकारी प्रतिनिधिमण्डललाई सहभागी हुन नदिएर अन्तर्राष्ट्रिय मान्यताको अवहेलना गरेको हो । उहाँले दक्षिण अफ्रिकामा ‘श्वेत अफ्रिकीको हिंसात्मक दमन’ भइरहेको दावी पनि दोहोर्‍याउनुभयो । उक्त दावीलाई दक्षिण अफ्रिकी सरकारले बारम्बार आधारहीन भनेको छ ।

ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भन्नुभयो, “दक्षिण अफ्रिकाले शिखर सम्मेलनपछि हाम्रो दूतावासका वरिष्ठ प्रतिनिधिसँग जी-२० को होस्टिङ जिम्मेवारी हस्तान्तरण गर्न अस्वीकार गर्‍याे । त्यसैले सन् २०२६ को जी-२० का लागि उनीहरूलाई निमन्त्रण दिइने छैन ।” साथै उहाँले दक्षिण अफ्रिकालाई ‘सदस्यताका लागि अयोग्य’ देशका रूपमा चित्रित गर्दै सबै अमेरिकी सहायता तुरुन्तै रोक्ने निर्णय सुनाउनुभयो ।

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाको कार्यालयले भने अमेरिकाले हस्तान्तरण समारोहका लागि ‘उपयुक्त स्तरका अधिकारी नपठाएका’ कारण कार्यक्रम दक्षिण अफ्रिकी विदेश मन्त्रालय भवनमा सारिएको हो भन्दै ट्रम्पको अभिव्यक्तिलाई अपमानजनक र भ्रामक भनेको छ । दक्षिण अफ्रिकाले ट्रम्पले फैलाउँदै आएको ‘श्वेत किसानमाथिको आक्रमण’ सम्बन्धी दाबीलाई पनि पुनः खण्डन गर्दै यसलाई गलत सूचना र विकृत तथ्यमा आधारित ठहर गरेको छ ।

यस वर्ष जोहानेसबर्गमा पहिलो पटक अफ्रिकामा आयोजित शिखर सम्मेलनलाई अमेरिकाले सम्पूर्णरूपमा बहिष्कार गरेको थियो । वासिङ्टनले घोषणापत्रमा हस्ताक्षर नगरेको र जलवायु परिवर्तन जस्ता विषयमा दक्षिण अफ्रिकाको प्राथमिकताप्रति कडा असहमति जनाएको थियो । अब जी-२० को घुम्ती अध्यक्षता अमेरिकामा आइसकेपछि दक्षिण अफ्रिकासँगको विवादले भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट छैन ।

ट्रम्प आफैँले घोषणा गरिसक्नु भएको आगामी वर्षको जी-२० बैठक फ्लोरिडाको डोरलस्थित आफ्नै गल्फ क्लबमा आयोजना हुने छ, जसले यो विषयमा थप राजनीतिक संवेदनशीलता पैदा गरेको छ । विशेषगरी चीन, रुस र इरानसँगका कूटनीतिक सम्बन्धका कारण दक्षिण अफ्रिका हाल ट्रम्प प्रशासनका लागि लगातार निशाना बनेको छ । हालै प्रशासनले वार्षिक अमेरिकी शरणार्थी कोटा सात हजार ५०० मा सीमित गर्ने निर्णय गरेको छ, जसमा धेरैजसो स्थान श्वेत दक्षिण अफ्रिकीहरूका लागि आरक्षित गरिएको छ । 

यस वर्ष मात्र अमेरिकाले ५९ अफ्रिकीलाई (अफ्रिकानर्स) शरणार्थीका रूपमा स्वीकार गरेको थियो । अफ्रिकी मुख्यतया डच, फ्रान्सेली र जर्मन वंशका प्रवासीको सन्तान हुन्, जो १७औँ शताब्दीदेखि दक्षिण अफ्रिकामा बसोवास गर्दै आएका छन् । सन् १९४८ देखि सन् १९९४ को रङ्गभेद शासनमा उनीहरूको प्रमुख भूमिका भए पनि समुदायभित्र विविधता रहेको र केही अफ्रिकीसमेत रङ्गभेदविरुद्ध लडेको इतिहास रहेको उद्धृत गरिएको छ । दक्षिण अफ्रिकाको कुल छ करोड २० लाख जनसङ्ख्यामा करिब दुई करोड ७० लाख अफ्रिकानर्स रहेका छन् । रासस/एपी