• ३ साउन २०८१, बिहिबार

शुक्लागण्डकी नगरपालिकामा सेवा प्रवाह केन्द्र स्थापना

blog

अमरराज नहर्की

तनहुँ, जेठ १९ गते । तनहुँको एक पालिकाले सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना गरेको छ । शुक्लागण्डकी नगरपालिकाले सेवा प्रवाहलाई सहजता ल्याउन केन्द्र स्थापना गरेको हो । 

सेवामा नागरिकले सास्ती खेप्न नपरोस भनेर केन्द्र सञ्चालन ल्याएको  नगरपालिकाले जनाएको छ । सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो छरितो, पारदर्शी र नागरिकमैत्री बनाउन केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । 

केन्द्रले सरल रुपमा सेवा प्रदान गरी सेवाग्राहीको सन्तुष्ट अभिवृद्धिमा पुलको रुपमा काम गर्ने नगर प्रमुख पण्डितले बताउनुभयो । ‘नागरीकमैत्री बनाई सेवा सहज, छिटो छरितो चुस्त बनाउन कर्मचारीलाई निर्देशन गरेका छौं’ नगर प्रमुख पण्डितले भन्नुभयो । 

नगरपालिकाले केन्द्र नगरपालिकाको मूख्य प्रशासनिक भवनको भुई तलाको बीच भागमा स्थापना गरिएको छ । केन्द्रको बाहिरी घेरा वरिपरि सेवा लिन आउने नागरिकलाई आरामदायी सुविधा सम्पन्न प्रतिक्षा कक्ष (स्थल) मा बस्ने व्यवस्था गरिएको छ । सेवा लिन विभिन्न शाखामा जानुपर्ने र कर्मचारीलाई बुझाउन झन्झट हुँदा समस्या खेप्दैआएका सेवाग्राहीको अब कर्मचारी स्वयम्ले काम सम्पन्न गर्नेहुँदा सहज हुने नगर प्रमुख पण्डितले बताउनुभयो । 

सेवाग्राहीले सेवासँग सम्बन्धित कागजातसहितको फाइल केन्द्रमा रहेका कर्मचारीलाई हस्तान्तरण गरिसकेपछि बाँकी कामको सबै प्रक्रिया पूरा गर्न सम्बन्धित शाखा, उपशाखा, इकाईसँग समन्वय गरी कर्मचारीले नै पूरागरी सेवाग्राहीलाई प्रदान गर्ने व्यवस्था मिलाएका छौं’ पण्डितले भन्नुभयो । 

सेवाग्राहीलाई नगरपालिका आएपछि कुन कामका लागि कसलाई भेट्ने थाहा नहुने हुँदा समस्या पर्नेगरेको उहाँको भनाई छ । सो समस्या समाधान हुने अपेक्षा नगरपालिकाले लिएको उहाँले बताउनुभयो । ‘केन्द्र सञ्चालन भएसँगै कर्मचारी र आम नागरिकबीचको सम्बन्ध प्रगाढ हुने विश्वास लिएका छौं’ नगर प्रमुख पण्डितले भन्नुभयो । 

सेवा प्रवाहमा जटिलता वा अन्यौलता सिर्जना भएमा प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित शाखाका कर्मचारीले आवश्यकताअनुसार सेवा केन्द्रमा उपस्थित भई समाधान गर्न सहजीकरण गर्ने व्यवस्था मिलाइएको केन्द्र स्थापना अवसरमा जानकारी दिइएको थियो । 

उपप्रमुख खुमबहादुर विकले कामका लागि जनता कर्मचारीको ठाउँमा जाने नभई कर्मचारी नै आवश्यक परेको खण्डमा जनतासामु आएर काम गर्ने वातावरण सिर्जना गर्न केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । सेवा सुरुदेखि प्राप्तीसम्म तोक आदेश, दर्ता, सम्बन्धित शाखामा पेश र अन्तिम सेवा नागरिकको हातमा हस्तान्तरणसम्मको कार्यका लागि कर्मचारीले गर्नेगरी व्यवस्थापन गरेका छौं’ नगर उपप्रमुख विकले भन्नुभयो ।