निशा राई
धरान, चैत ६ गते । कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षाको लागि आगामी वर्ष कोशी सरकारले नयाँ नीति तर्जुमा गर्ने बताउनुभएको छ । बुधबार धरान –१२ स्थित पब्लिक हाइस्कुलको ७८ औं बार्षिकउत्सव तथा अभिभावक दिवसको अवसरमा उहाँले सो कुरा बताउनुभएको हो ।
सरकारी स्कुलले पनि चाह्यो भने प्राइभेटभन्दा राम्रो शिक्षा दिन सक्ने पब्लिक स्कुल उदाहरणको रुपमा रहेको उहाँले बताउनुभयो । ‘अहिलेको समयमा सामुदायिक विद्यालय नाजुक अवस्थामा रहेको छ, तथापि पब्लिक स्कुल सबै पक्षमा अगाडि रहनु गौरवको कुरा हो । हिमाल, पहाडलगायत भित्रि तराई क्षेत्रमा पनि विद्यालय नाजुक रहेकाले त्यसका लागि हिमाली र पहाडी जिल्लामा नमुना विद्यालय बनाउने कोशिस गरिरहेको छौं’ उहाँले भन्नुभयो ।
आगामी वर्षदेखि प्रदेश सरकारको तर्फबाट बजेट बिनियिोजन गरेर शैक्षिकक्षेत्रमा विकास गर्ने उहाँको भनाइ छ । हिमाली र पहाडी जिल्लामा विद्यालयको जिर्ण भएको भवनदेखि छात्रछात्राहरुका लागि आवासको पनि सुविधाको दिन भवन निर्माण गर्ने उद्देश्य रहेको बताउनुभयो ।
पब्लिक हाइस्कुलले स्थापनाकालदेखि समाज रुपान्तरण र शैक्षिक जागरणमा महत्वपूर्ण भूमिका खेलेको छ, यसरी अन्य सरकारी विद्यालयले पनि सिक्नुपर्ने उहाँले बताउनुभयो । आजको समयमा प्राइभेट स्कुललाई टक्कर दिनसक्ने कोशी प्रदेशको पुरानो र स्थापित विद्यालय मध्येको एक रहेको छ ।
पब्लिक स्कुलको पठनपाठन उत्कृष्ट र गुणस्तरीय रहेकाले धरान शैक्षिक हिसाबले उत्कृष्ट नगर रहेको उहाँले बताउनुभयो । बिद्यालयको वार्सिकउत्सवको अवसरमा बिद्यार्थीले आफैले बनाएको विज्ञान तथा हाते सामग्रीहरु गरी अन्य शैक्षिक सामग्रीको ३३ वटा स्टलहरु राखी प्रदर्शन गरिएको थियो । यसमा मुख्यमन्त्री कार्कीले अवलोकन गर्नुभएको थियो ।
यस स्कुलमा प्राइमरीदेखि १२ कक्षासम्म पढाइ हुने जसमा ३४ सय विद्यार्थी रहेको पब्लिक स्कुलका प्रधानाध्यापक डा. ईन्द्रमोहन झाले बताउनुभयो । यो स्कुल धरानको सरकारी विद्यालयमध्ये उत्कृष्ट एक विद्यालय हो यस स्कुलमा प्राइमरीदेखि नै इङ्लिस मिडियमबाट समेत पढाइ हुन्छ ।
२००३ सालमा जहानियाँ राणा शासनका बेला शिक्षाको ज्योति छर्न धरानका स्थानीय शिक्षाप्रेमी व्यक्तित्वको पहलमा विद्यालय स्थापना गरिएको प्रधानाध्यापक झाले बताउनुभयो ।
उक्त कार्यक्रमको अवसरमा स्कुलको विज्ञान विषयको र म्यानेजमेन्ट विषयको बेग्लै भवनको उदघाटन गरिएको छ । कार्यक्रममा कोशी प्रदेशसभा सदस्यद्वय यशोदा कायस्थ, रमेश बस्नेत र बिजयकुमार राई धरान –११ को वडाध्यक्ष लोकेन्द्र फागो, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किराँती, पुर्व उपप्रमुख मन्जु भण्डारी लगायत पब्लिक स्कुलका शिक्षक शिक्षिका, विद्यार्थीको उपस्थिति थियो ।