• ६ चैत २०८१, बुधबार

बुटवलमा दोस्रो मिडिया सम्मेलन हुने

blog

कार्यक्रमबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलन । तस्बिर : कपिल ज्ञवाली

सिद्धार्थनगर, चैत ६ गते । बुटवलमा दोस्रो मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा मिडिया सम्मेलन हुने भएको हो ।

सञ्चार माध्यमहरु धरासायी हुँदै गएको र केही बन्द समेत हुँदै गएको अवस्थामा मिडियालाई कसरी चलायमान बनाउन सकिन्छ, मिडियालाई जोगाउने र मिडियाकर्मीलाई बचाँउने आधारहरु के–के हुन सक्छन् ? भन्ने विषयमा सम्मेलन गर्न लागिएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

सञ्चार माध्यमहरुका समस्या र चुनौती बारे वृहत अन्तरक्रियाका लुम्बिनी मिडिया सम्मेलन गर्न लागिएको प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुवँरले जानकारी गराउनुभयो । उहाँका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनमा सञ्चारगृहका लागि आइपर्ने अवसर र सम्भावको खोजी गरिनेछ । मिडिया सम्मेलनमा पत्रकारिताका वरिष्ठ व्यक्ति र विज्ञहरुको सहभागिता रहने छ ।

मिडिया जोगाउने र मिडियाकर्मीलाई बचाँउने विषयमा गहन छलफल र अन्तरक्रिया गरिने उहाँले बताउनुभयो । सम्मेलनलाई सातवटा सत्रमा विभाजन गरिएको छ । चैत ८ गते शुक्रबार सम्मेलनको उद्घाटन लगत्तै ‘परम्परागत मिडिया : आजको अवस्था, भोलिको बाटो’ विषयमा छलफल हुनेछ ।

त्यस्तै छापा माध्यम, किन र कसका लागि ?, अनलाइन पत्रकारिता, विज्ञापन बजार, सञ्चार संस्था नियमन या नियन्त्रण, पत्रकार र पत्रकार महासंघ लगायतका विषयमा छलफल गरिने प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका सचिव माधव नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार मिडिया सम्मेलनले सञ्चार माध्यमको विद्यमान अवस्था, अव गर्नुपर्ने काम र भावी कार्यदिशा तय गर्ने र ठोस कार्ययोजना बनाउने छ ।

सञ्चार माध्यमले आगामी दिनमा तय गर्नुपर्ने विषयवस्तुबारे स्पष्ट मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।  त्यसबाहेक रेडियोको अवस्था र विकासका बारेमा समेत औपचारिक अनौपचारिक छलफल हुने समाजका उपाध्यक्ष विष्णु भुसालले बताउनुभयो ।