अर्जुन कार्की
बागलुङ, चैत ६ गते । बागलुङमा चार हजार बढी विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । चैत ७ गतेदेखि हुने परीक्षामा जिल्लाका १ सय ४६ विद्यालयका ४ हजार ९९० जना विद्यार्थीले परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख प्रकाश बन्धु अर्यालले बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई बागलुङले बुधबार पत्रकार सम्मेलन गरेर जिल्लाका दश स्थानीय तहमा ३१ परीक्षा केन्द्रबाट विद्र्याीले परीक्षा दिन लागेको जनाएको छ । परीक्षाका लागि नियमित साधारण तर्फ ३ हजार ७ सय ९८ जना र नियमित प्राविधिक तर्फ २ सय ४७ जना विद्यार्थीले परीक्षामा सहभागीता जनाउने प्रमुख अर्यालले जानकारी दिनुभयो । उहाँले ग्रेडवृद्धि साधारण तर्फ ८८१ जना, ग्रेडवृद्धि प्राविधिक तर्फ १९ जना र पुरानो ग्रेडवृद्धि (२०७८÷०७९) तर्फ ४५ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको बताउनुभयो ।
बागलुङमा १० वटा विद्यालयले प्राविधिक धारको परीक्षा पनि दिनेछन् । पशु विज्ञानतर्फ ३, बाली विज्ञानतर्फ ३, सिभिल इन्जिनियरतर्फ २ र कम्प्युटर इन्जिनियरतर्फ २ वटा विद्यालयले परीक्षा दिन लागेका हुन् ।
यस्तै यस वर्ष अपांगता भएकातर्फ धौलागिरि बहिरा माविबाट १५ जना बहिरा विद्यार्थीले र बलेवास्थित जनता–धन माविबाट ३ जना दृष्टीविहिन विद्यार्थीले पनि परीक्षा दिन लागेका छन् । यस्तै संस्कृत तर्फ २ जना बटुकले पनि परीक्षामा सहभागिता जनाउन लागेको प्रमुख अर्यालले बताउनुभयो ।
खुला विद्यालयतर्फ विद्यामन्दिर माविबाट २३ रेगुलर, ग्रेड वृद्दि १२ जना गरी ३५ जनाले परीक्षा दिन लागेका छन् ।