• ६ चैत २०८१, बुधबार

प्रधानमन्त्री कप : पुलिस, सुदूरपश्चिम र मधेश विजयी

blog

पुलिसका खेलाडी ।

काठमाडौँ, चैत ६ गते । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएको छ ।

सिद्धार्थनगर क्रिकेट मैदानमा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई सात विकेटले हरायो । प्रतियोगितामा अपराजित पुलिसको यो लगातार छैटौँ जित हो ।

जितका लागि गण्डकीले दिएको ९३ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले १६ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । जितसँगै शीर्षस्थानमा रहेको पुलिसले ६ बाट १२ अङ्क बनाएको छ । पराजित गण्डकी समान खेलबाट दुई अङ्क जोड्दै अन्तिममा छ । 

यस्तै बुटवलको एक्ट्राटेक ओभल मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पाँच विकेटले हरायो । जितका लागि लुम्बिनीले दिएको एक सय १७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३१.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । जितसँगै सुदूरपश्चिमले ६ खेलबाट चार अङ्क बनाएको छ । पराजित लुम्बिनीको समान खेलबाट आठ अङ्क छ ।

यस्तै लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको अर्को खेलमा मधेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले हराएको छ । जितका लागि आर्मीले दिएको दुई सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

जितसँगै पाँच खेलबाट चार अङ्क बनाएको मधेश छैटौँ स्थानमा छ । पहिलो हार खेपेको आर्मी ६ खेलबाट १० अङ्क जोड्दै दोस्रो स्थानमा छ ।