शंकर केसी
सल्यान, चैत ५ गते । सल्यानका सातवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ नेतृत्व चएन भएको छ । तीनवटा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
चारवटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलले दुई र अखिल क्रान्तिकारीले दुई क्याम्पसमा जित हाँसिल गरेको छ । एउटा क्याम्पसको नतिजा आउन बाँकी छ ।
मंगलबार भएको निर्वाचनबाट सल्यान बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानलबाट अध्यक्षमा अनेरास्ववियुका विशाल पुन विजयी हुनुभएको छ ।
कुल मतदाता तीनसय ३२ जना रहेकोमा जम्मा खसेको एकसय ५८ मतमध्ये पुनले एकसय २० मत पाएका थिए । यस्तै, सचिवमा ९४ मत ल्याउँदै प्रसान्त शाह र कोषाध्यक्षमा १०६ मत ल्याएर अस्मिता बस्नेत विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी शिवजन क्याम्पस, सितलपाटी, सल्यानमा भएको निर्वाचनमा सञ्जय हमाल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । निर्वाचन समितिका अनुसार उहाँले एकसय ९४ मत प्राप्त गर्नुभयो । उपाध्यक्ष पदमा आभिष चनारा १८२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
कोषाध्यक्ष पदमा यारम रावत १८५ मत ल्याएर विजयी हुनुभएको छ । निर्वाचनमा जम्मा २९६ मत खसेको थियो । विजयी सबै नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलका उम्मेदवार हुनुहुन्छ ।
जनकल्याण क्याम्पस थारमारेको अध्यक्षमा अखिल क्रान्तिकारीका गणेश वली विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । यहाँ अनेरास्ववियुबाट बिमला शर्मा सचिव पदमा १ मतले विजयी हुनुभएको छ । उता दार्माको फारुला बहुमुखी क्याम्पसमा पनि हिमा शर्माको नेतृत्वमा अखिल क्रान्तिकारीका सबै उम्मेदवारहरु विजयी हुनुभएको छ ।
यस्तै, बन्गाड क्याम्पसमा अखिल क्रान्तिकारीका जीवन बिष्ट, शारदा क्याम्पस शंखमुलमा अनेरास्ववियुका विश्व खड्का र कपुरकोट बहुमुखी क्याम्पसमा नेविसंघका झलक ओली सर्वसम्मत रुपले अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।