• ५ चैत २०८१, मङ्गलबार

आयोजनालाई बजेट अभाव

blog

तस्बिर : राजन रावत सडकको अनुगमन गर्दै हिल्सा–सिमकोट आयोजनाका प्रमुखसहितका कर्मचारी ।

राजन रावत

हुम्ला, चैत ५ गते  । हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने जिम्मा पाएको राष्ट्रिय गौरवको आयोजना हिल्सा–सिमकोट सडक आयोजनालाई बजेट र जनशक्तिको अभाव भएको छ । दरबन्दी अनुसारको जनशक्ति खटाउन नसक्नु र आयोजनाको माग अनुसार बजेटको व्यवस्था हुन नसकेपछि आयोजनामा समस्या देखिएको छ ।  

आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले राष्ट्रिय गौरवको आयोजनालाई हाल जनशक्ति र बजेट दुवै अभाव रहेको बताउनुभयो । उहाँले आयोजनाका लागि स्वीकृत दरबन्दी अनुसार जनशक्ति पनि हालसम्म पूर्ति हुन नसकेको बताउनुभयो । स्वीकृत दरबन्दी अनुसार आयोजनाका लागि एक जना योजना प्रमुख, दुई जना इन्जिनियर र चार जना सबइन्जिनियरको दरबन्दी छ । 

हाल आयोजनामा कार्यरत एक योजना प्रमुख, एक इन्जिनियर र एक जना सबइन्जिनियर मात्र कार्यरत छन् । हिमाली जिल्ला र दुर्गम भएका कारण कोही पनि आउन नमान्ने विभागले जनाउने गरेको बताउँदै उहाँले आफूले दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापनका लागि पटक पटक लिखित रूपमा माग गरे पनि व्यवस्था हुन नसकेको गुनासो गर्नुभयो । 

पटक पटक माग गर्दा पनि सुनुवाइ हुन नसकेपछि अहिले भने माग गर्नै छोडेको र भएकै जनशक्तिबाट काम चलाउने गरिएको उहाँको भनाइ छ । हाल आयोजनासँग पाँच वटा पक्की पुल निर्माणाधीन अवस्थामा छन् । ती पक्की पुलमा नाम्खा गाउँपालिका–४ को याङ्गार खोलाको पुल, ताग्रु खोला पुल र हेप्का खोलाका पुल सिमकोट–हिल्सा सडक अन्तर्गत पर्छ भने खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमाथिको पुल र सर्केगाड गाउँपालिकाको थाहा खोला पुल रहेका छन् । सडक स्तरोन्नतिमा सिमकोट हिल्सातर्फ तुम्कोटदेखि हिल्सा सडक, नाम्खाकै इलिङदेखि याल्वङ चौर, याल्वङ चौरदेखि च्याछरासम्म र च्याछरादेखि सिमकोट गाउँपालिकाको सरिमासम्म गरी चार वटा सडक निर्माणको योजना निर्माणाधीन अवस्थामा रहेका छन् । 

सिमकोट सलीसल्ला खण्डमा सिमकोट खार्पु, लालीबगर, ल्याप्चेदेखि सलीसल्ला सडक योजना निर्माणाधीन अवस्थामा रहेका छन् । यीमध्ये तीन वटा अन्तिम प्राविधिक मूल्याङ््कन समेत भइसकेको छ । योजना बढी र जनशक्ति कम भएपछि आफू पनि फिल्डमा खटिने गरेको बताउँदै सबै योजनामा आवश्यकताका आधारमा जनशक्ति खटाउन समस्या भएको जानकारी उहाँले दिनुभयो । आयोजनाबाट वर्षमा दुईदेखि तीन पटक मात्र जनशक्ति आउने गरेको गुनासो निर्माण व्यवसायीको रहेको छ । 

हिल्सा–सिमकोट सडक आयोजना राष्ट्रिय गौरवको आयोजना भए पनि योजना अनुसार बजेटको व्यवस्था पनि हुन सकेको छैन । यी सबै आयोजना सम्पन्न गर्न एक अर्ब ८२ करोड बजेटको दायित्व आयोजनासँग रहेको छ । 

चालु आर्थिक वर्षमा सडकतर्फ ३४ करोड ९९ लाख र पुलतर्फ सात करोड ९० लाख रुपियाँ बजेट मात्र निकासा आएको आयोजना प्रमुख नेपालीले बताउनुभयो । उहाँले बजेट अभावकै कारण एउटा पुल र दुई वटा सडकको अन्तिम मूल्याङ्कन भई बिल उठिसकेको भए पनि भुक्तानी दिन नसकिएको जनाउनुभयोे । 

त्यसै गरी खार्पुको पक्की पुलका लागि चालु आर्थिक वर्षमा २० लाख मात्र बजेट रहेको र त्यो बजेट पनि भुक्तानी भइसकेका कारण बजेटबिनै सो पुल निर्माण भइरहेको छ । बजेट अभावबारे विभागसँग कुरा गर्दा लिखित नआउने र मौखिक रूपमा बजेटको समस्या नहुने, कामलाई तीव्रता दिन मात्र निर्देशन आउने जानकारी आयोजना प्रमुख नेपालीले बताउनुभयो ।