गोकर्ण पौडेल
तुलसीपुर, चैत ४ गते । घोराही तुलसीपुर सडक खण्डको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको अम्बिकेश्वरी यातायात प्रालिको रा. १ ख. ३१२६ नम्बरको बस तुलसीपुर–१७ र १८ नम्बरको सिमानामा पर्ने बेल्झुण्डीनजिक मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको हो ।
सोही दिशातर्फ आउँदै गरेको रा. ६ प. २६२९ नम्बरको मोटरसाइकलले बसलाई ओभरटेक गरी एक्कासी मोड्ने क्रममा बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएर दुर्घटना भएको हो । एक्कासी बसले ब्रेक लगाउँदा मोटरसाइललाई सामान्य ठक्कर दिँदा मोटरसाइकल चालक पनि घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य सबैको अवस्था सामान्य रहेकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।