• ४ चैत २०८१, सोमबार

मविव क्याम्पसमा स्ववियु निर्वाचनका लागि ६ वटा मतदान केन्द्र

blog

मविव क्याम्पस राजविराज । तस्बिर : विनय कर्ण

विनय कर्ण 

कल्याणपुर (सप्तरी), चैत ४ गते । राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । चैत ५ गते मंगलबार हुन लागेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सबै तयारी पुरा भएको हो ।

सहज रुपमा मतदान सम्पन्न गराउन मविव क्याम्पस राजविरामा ६ वटा मतदान केन्द्रमा १२ वटा बुथ रहने निर्वाचन अधिकृत नन्दकिशोर यादवले जानकारी दिनुभयो । उहाँले निर्वाचनमा ५० जना कर्मचारी खटाईएको समेत बताउनुभयो ।

निर्वाचन अधिकृत यादवका अनुसार कूल ३०१२ मतदाता रहेको र सभापति सहित प्रत्यक्ष तर्फ १० र समानुपाति तर्फ ९ गरी कूल १९ पदका लागि हुने निर्वाचनमा ४१ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

निर्वाचनमा नेपाल विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त गठबन्धनबाट सभापति पदमा नितिश कुमार यादवको प्यानल, समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) को संयुक्त गठबन्धनबाट सभापति पदमा रंजित कुमार यादवको प्यानल चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् । 

यस्तै, विद्यार्थी जनमत संघ बाट त्रिवेणी कुमार यादव सभापति पदमा तथा अनेरास्ववियुको तर्फबाट मनिषा कुमारी साह सभापति पदमा प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् भने विनय कुमार यादव (बालेन) पनि सभापति पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  

विद्यार्थीको हकहित अधिकार तथा क्याम्पसमा देखिएको शैक्षिक समस्याको समाधान गर्ने प्रतिवद्धता सहित उनीहरु आफ्नो पक्षमा जित हात पार्न प्रतिस्पर्धा गर्दैछन् ।