• ४ चैत २०८१, सोमबार

‘गरेका कामको प्रचार पनि चाहिन्छ’

blog

कास्की समाचारदाता 

कास्की, चैत ३ गते  ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महतले संस्थागत कामको प्रचारमा नेपाली कांग्रेस चुकेको बताउनुभएको छ । 

नेपाली कांग्रेस केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभागद्वारा पोखरामा शनिबार आयोजित गण्डकी प्रदेशस्तरीय ‘राष्ट्र निर्माणमा युवाको योगदान तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रममा प्रवक्ता महतले सम्पन्न भएको कामको पनि प्रचार हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “संस्थालाई सक्रिय बनाउनका लागि प्रचारको अति नै आवश्यक छ । बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भने झैँ काम गरेका छौँ भनेर मात्र हुँदैन । त्यसबारे जनतालाई जानकारी दिनु पर्छ । पार्टीमा पनि त्यही अवस्था हो ।” उहाँले भन्नुभयो, “हामी ज्यादै व्यक्तिवादी भयौँ । अराजक भयौँ । अन्य पार्टीको सिद्धान्त कमजोर भए पनि सङ्गठन विस्तारको प्रचार बलियो छ, त्यो हामीले सिक्न आवश्यक छ ।’’  

प्रवक्ता महतले पार्टी जनता र देशलाई सेवा गर्ने प्लेटफर्म भएको बताउँदै पार्टीको मूल मर्म बुझेको व्यक्ति मात्र संस्था चलाउन सक्षम हुने बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिमा प्रचार हुन आवश्यक रहेको बताउनुभयो । २०४८ सालदेखि नेपाली कांग्रेसले थुप्रै गतिविधि गरेको भए पनि प्रचार नहुँदा सबैलाई जानकारी हुन नसकेको उहाँको भनाइ छ ।