बाजुरा समाचारदाता
बाजुरा, चैत ४ गते । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका पछिल्लो समय विकासमा फड्को मार्दै गएको छ । विसं २०६४ अघि यहाँका दुर्गम गाउँबस्तीका स्थानीयलाई स्वास्थ्य, शिक्षा, सडक, खानेपानी र विद्युत्लगायतको भौतिक पूर्वाधारको निकै अभाव थियो । विसं २०६५ देखि २०८१ आइपुग्दा अहिले यहाँका ती गाउँबस्ती सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका भौतिक पूर्वाधार विकासको पहुँचमा रहेका छन् । बाजुराका अन्य पालिकाभन्दा यो हिमाली गाउँपालिका निकै दुर्गममा पर्दछ । यहाँका स्थानीयले पहिला भेडाबाख्रा तथा खच्चडको सहाराले नुन, तेल, चामल, दाललगायतका दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका थिए ।
अहिले यहाँका अधिकांश गाउँबस्तीमा सडक पुगेसँगै यहाँका स्थानीयको त्यो समस्या हट्दै गएको छ । केही समयपहिला सहुलियतको नुन, चामल किन्नका लागि एक दिनभर कोल्टीमा लाइन बस्ने गरेका यहाँका स्थानीयले पछिल्लो समय गाउँबस्तीमै त्यो सुविधा पाउने गरेका छन् । अहिले यहाँका गाउँबस्ती सडक सञ्जालको पहुँचमा पुगेसँगै घरदेखि बाहिर गएका अधिकांश युवासमेत गाउँ नै फर्किन थालेका छन् । हिमाली गाउँपालिकाको धुलाचौरस्थित पाउरोटी उद्योग सञ्चालक राजेन्द्र मल्लले भन्नुभयो, “पहिला यता केही विकास भएको थिएन । गाउँमा विकास नहुँदा रोजगारी पाउने कुरै भएन । त्यसैले रोजगारी गर्नका लागि नै विदेश गएको थिएँ ।” अहिले गाउँघरमै गाडी चल्न थालेपछि त्यहाँबाट फर्केर गाउँमै पाउरोटी उद्योग सञ्चालन गर्न थालेको मल्लले बताउनुभयो । हिमाली गाउँपालिकामा सात वटा वडा छन् । ती वडाका स्थानीय शिक्षा, स्वास्थ्य तथा खानेपानीको पहुँचमा छन् । त्यसै गरेर यहाँका एक/दुई वडाबाहेक अन्य सबै वडा सडक सञ्जालको पहुँचमा रहेका छन् । पहिला झरो र टुकीका भरमा रहेका यहाँका स्थानीयको पछिल्लो बत्ती बाल्ने गरेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।