बैतडी समाचारदाता
बैतडी, चैत ४ गते । पाटन–पञ्चेश्वर सडक कालोपत्रे हुँदा भारतसँग सीमा जोडिएका तल्लो स्वराड क्षेत्रका तीन वटा पालिकाको मुहार फेरिन थालेको छ । आठ वर्षअघि खच्चडमा नुन, चामल ढुवानी हुने तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा अहिले मोटरगाडी गुड्न थालेका छन् ।
सरकारले पाटन–पञ्चेश्वर सडक निर्माणसँगै कालोपत्रेलाई प्राथमिकता दिएपछि तल्लो स्वराड क्षेत्रको पञ्चेश्वरबाट अहिले तराईका जिल्लामा बस चल्न थालेका छन् । आठ वर्षअघिका दिन सम्झिँदै मेलौलीका स्थानीय विजयसिंह नायकले स्वराडमा सडक पुगेपछि बल्ल नेपाली भएको अनुभूति सुनाउनुभयो । खच्चडमा सामान ढुवानी गर्नुपर्दा प्रतिकिलो १५ रुपियाँ महँगो चामल खानुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो ।
अहिले मोटरगाडीले पाँच रुपियाँ प्रतिकिलो उपभोग्यका वस्तु ढुवानी गर्दा खाद्यान्न सस्तो भएको छ । पहिले घोडेटो बाटो नभएका स्थानमा मानिसद्वारा ढुवानी हुने वस्तुको भाडा प्रतिकिलो २४ रुपियाँसम्म तिर्नुपर्ने बाध्यता थियो । पाटन–पञ्चेश्वर सडकले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका ५० हजार बासिन्दाको कष्टकर जीवन फेरिएको मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला सदरमुकाम पुग्न दुई दिन पैदल हिँड्नु पथ्र्यो । सडक पुगेपछि अहिले तीन÷चार घण्टामा पुगिन्छ ।” सडक विस्तार भएपछि अहिले प्रदेश राजधानीबाट पाँच रुपियाँ प्रतिकिलो ढुवानीमा उपभोग्य वस्तुको आपूर्ति भइरहेको उहाँले बताउनुभयो ।
सडकमा बाउन्न करोड खर्च
पाटन–पञ्चेश्वर ६५ किलोमिटर सडकखण्डको मेलौली नगरपालिकासम्म ३७ किलोमिटर कालोपत्रे भइसकेको छ । मेलौलीदेखि अगाडि शिवनाथ गाउँपालिकाको सुल्लेखान हुँदै पञ्चेश्वर गाउँपालिकासम्म ग्राभेल, नाली निर्माणको काम सम्पन्न भएर कालोपत्रेको तयारी भइरहेको पूर्वाधार विकास कार्यालय बैतडीका प्राविधिक नरेश भुलले बताउनुभयो । उहाँले पाटन–पञ्चेश्वर सडकखण्डमा चालु आर्थिक वर्ष २०८०/८१ मा छ करोड रुपियाँ बजेट रहेको जानकारी दिनुभयो ।
स्वराडको तरकारी धनगढीमा
सडक पुगेपछि सुपथ मूल्यमा चामल खान पाएको स्थानीय किसान चिन्तामणि भट्टले बताउनुभयो । यसअघि सामान्य खेती किसानी गर्दै आएका चिन्तामणि अहिले यहाँका अग्रणी तरकारी खेती गर्ने किसान बन्नुभएको छ ।
सडक पुगेपछि यो सिजनमा तीन क्विन्टल स्थानीय जातको प्याज र एक क्विन्टल गोलभेँडालगायतको तरकारी धनगढी जाने गाडीले लगेको उहाँले बताउनुभयो । उहाँले अहिले मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वार्षिक दुई लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । यहाँका मेलौली र शिवनाथका किसानले फलाएको टमाटर धनगढीमा बिक्री भइरहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । पाटन–पञ्चेश्वर सडक स्तरोन्नति भएपछि मेलौली नगरपालिकाको लामालेक, मेलौली र काँडाबजार जिल्ला सदरमुकामकै हाराहारीको स्वरूपमा विकास भएको छ । मेलौलीसँगै शिवनाथको सुल्लेखान, पञ्चेश्वरको कुलाउ र आमचौरामा बजारसँगै बिजुली पनि विस्तार भएको छ । यो वर्ष मेलौली नगरपालिकाका सबै वडामा विद्युत् विस्तार हुने गरी टेन्डर आह्वान भएको विद्युत् वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख इन्जिनियर जनार्दन पौडेलले बताउनुभयो ।