हरेक बालबालिकासँग कुनै न कुनै प्रतिभा रहेको हुन्छ । उनीहरूमा निहित प्रतिभालाई पहिचान गर्दै अङ्कुराउने वातावरण प्रदान गर्न सकेमा थुप्रै नवप्रतिभाको जन्म हुन्छ । आजका बालबालिका भोलिका कर्णदार यसै भनिएको होइन । उनीहरूमा भएको क्षमता, इच्छा तथा आकाङ्क्षाबमोजिमको प्रतिभा प्रस्फुटित हुने उपयुक्त वातावरण दिलाउनु सबैको कर्तव्य हो । मानव विकासको सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा यसलाई लिएर प्रतिभा पहिचान, प्रवर्धन एवं उपयोग गर्न सकेमा समृद्ध नेपालको परिकल्पना धेरै टाढाको विषय हुने छैन । यसका लागि सङ्घीय, प्रादेशिक सरकारसँगै स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
कुनै पनि व्यक्तिको लब्धाङ्क पत्रमा उल्लेख भएको अङ्कले मात्र उसको जीवनयापनमा सहजता पक्कै पनि ल्याउँदैन । व्यक्तिमा रहेको प्रतिभालाई उजागर गर्ने र उपयोग गर्दै जाने शिक्षा प्रणालीको विकास गर्न सकेमा अङ्क प्रणालीमा भन्दा पनि व्यावहारिक अभ्यासमा जोड पुग्छ । सैद्धान्तिक, घोकन्ते तथा अव्यावहारिक भएको आरोप खेपिरहेको नेपालको शिक्षा पद्धतिमा आमूल सुधारको आवश्यकता देखिन्छ । समग्र शैक्षिक प्रणालीमा आमूल परिवर्तन गर्न नसके पनि स्थानीय तहले स्थान विशेषका विशेषताका आधारमा स्थानीय योजना तर्जुमा एवं कार्यान्वयन गरी शैक्षिक पाठ्यक्रम तथा प्रणालीमा समयानुकूल परिवर्तन गर्दै जानुपर्ने देखिन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ परिच्छेद ३ दफा ११ गाउँपालिका तथा नगरपालिकाको अधिकार अन्तर्गत उपदफा २ ज. मा आधारभूत र माध्यमिक शिक्षा उल्लेख गरिएको छ । यसमा नीति, कानुन तथा योजना तर्जुमा कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन गर्नेदेखि स्थानीयस्तरको शैक्षिक ज्ञान, सिप र प्रविधिको संरक्षण, प्रवर्धन र स्तरीकरण गर्ने, अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन गर्नेलगायतका जिम्मेवारी स्थानीय तहलाई प्रदान गरिएको छ । यसै अनुरूप आफ्नो क्षेत्राधिकारभित्र रहेका नवप्रतिभाको पहिचान, अभिलेख तथा प्रवर्धनमा स्थानीय तहले अग्रणी भूमिका खेल्न सक्नु पर्छ ।
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन हुँदै आएको छ । हरेक शुक्रबार किताबबिना बालबालिका विद्यालय पुग्ने र सिर्जनात्मक सिकाइका लागि सहभागी हुने गर्छन् । हप्तामा एक दिन अर्थात् शुक्रबार सामुदायिक विद्यालयमा सिप, उद्यमशीलता, खेलकुद, सङ्गीत, कला तथा नेतृत्व विकासका लागि प्रशिक्षण कार्यक्रमको व्यवस्था गरिएको छ । २०८० सालमा कक्षा ९ का विद्यार्थीलाई शिक्षामा सिप कार्यक्रम सञ्चालन गरेर नमुनाका रूपमा थालिएको बुक फ्रि फ्राइडे कार्यक्रममा अहिले कक्षा ४ देखि १२ सम्म चलिरहेको छ । बालबालिकालाई सिकाउने, अन्तरनिहित क्षमता पहिचान गर्न लगाउने र अभिरुचिलाई समेत मध्यनजर गरी सिर्जनात्मक कार्यमा लाग्ने वातावरण प्रदान गरिनु नै सबैभन्दा महत्वपूर्ण हुन्छ । सधैँ किताबको घेरामा मात्र बाँधेर राख्दा उनीहरूको सिकाइको दायरा खुम्चिने, किताबप्रतिको आकर्षण कम हुने तथा व्यावहारिक जीवनोपयोगी सिप तथा ज्ञानको अभाव हुने समस्या रहन्छ । यसर्थ नवप्रतिभा प्रवर्धनका लागि शिक्षाको दिगो, व्यावहारिक र मजबुत जग बसाल्नु पर्छ । सरकार, विद्यालय प्रशासन र अभिभावकले बालबालिकाको क्षमता र रुचि अनुसार सृजनशीलता अभिवृद्धि गराउन सकारात्मक र रचनात्मक भूमिका खेल्नु आवश्यक छ ।
सामाजिक, आर्थिक, पारिवारिक तथा शैक्षिक तबरले सबै बालबालिकाको अवस्था र अवसर समान छैन । सामाजिकीकरण प्रक्रिया, सांस्कृतिक मूल्यमान्यता एवं भौगोलिक परिवेशले समेत अवसरमा विविधता रहेको हुन्छ । विविध कारणले सबै बालबालिकाले समान अवसर प्राप्त गर्न सकिरहेका हुँदैनन् । जिज्ञासु, मेहनती, लगनशील र प्रतिभावान् बालबालिका रुचि अनुरूपको अवसरबाट वञ्चित नहुनका लागि स्थानीय तहले विशेष व्यवस्था गर्नु पर्छ । निःशुल्क रूपमा अध्ययन तथा क्षमता विकासका विविध आयाममा जोड्नका लागि कोष, छात्रवृत्ति, विशेष अवसरमा ध्यान दिनुपर्ने हुन्छ । सामाजिक न्याय र समावेशीकरणको मर्मलाई पनि आत्मसात् गरेर नवप्रतिभालाई नवप्रवर्तनमा जोड्नु आवश्यक छ ।
कतिपय स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार क्षेत्रभन्दा बाहिर गएर विद्यालय तथा कलेजमा अनावश्यक लगानी गरिरहेका छन् । आधारभूत र माध्यमिक शिक्षामा केन्द्रित भएर सुधारका स्थानीय पहल गर्दै आधारभूत जग बसाल्नतर्फ ध्यान दिँदै बालबालिकालाई सिकाइमा थप ऊर्जा प्रदान गर्न प्रत्येक स्थानीय तहले इन्कुबेसन सेन्टरको स्थापना गरी उनीहरूका प्रतिभालाई हुर्किने अवसर प्रदान गर्नु पर्छ । अभिरुचि अनुरूप विषय विशेष परीक्षण गर्ने, प्रयोग गर्ने, अभ्यास गर्दै सिक्न इन्कुवेसन सेन्टरमार्फत पहुँच दिलाउन सक्दा नवप्रतिभाको जन्म हुन्छ । विद्यार्थी अनावश्यक रूपमा मोबाइल, टेलिभिजन तथा वेबसाइटमा तल्लिन हुँदा एकातिर समयको बर्बादी अर्कोतर्फ खराब कुरा र आचरण अवलम्बन गर्न सक्ने जोखिम पनि बढ्ने भएकाले सिर्जनात्मक कार्यमा जोड दिनु पर्छ ।
विद्यालयमा सञ्चालन गरिने अतिरिक्त शैक्षिक क्रियाकलाप बढी व्यावहारिक नहुँदा बालबालिकामा निहित प्रतिभा प्रस्फुटनमा सहयोगीसिद्ध हुन सकेका छैनन् । बहुविधागत रूपमा सबै बालबालिकाका अभिरुचिलाई सम्बोधन गर्ने तालिका निर्माण गरी विद्यालयका कार्यक्रम सञ्चालन गर्न सक्दा पनि धेरै विद्यार्थी लाभान्वित हुन सक्ने थिए । कला, गला र क्षमतालाई हुर्काउँदै आफ्नो करियर निर्माणलाई सहज बनाउन सक्ने थिए । यसर्थ नवप्रतिभालाई प्रयाप्त अवसर प्रदान गरेर प्रतिभा अनुकूलको क्षमता विकास गर्न अतिरिक्त शैक्षिक क्रियाकलापमा विद्यालयलाई परिचालन गर्न स्थानीय तह लाग्नु पर्छ, यसका लागि आवश्यक नीति, योजना तथा बजेट तर्जुमा गर्नु पर्छ ।
बालबालिकाको क्षमता विकासको महत्वपूर्ण पाटो बाल सहभागिता हो । बालबालिकालाई समूहमा सहभागी हुँदै छलफल गर्ने, सामूहिक कार्य गर्ने, भाबी योजना तथा सुधारका अभ्यास गर्ने, सहयोग गर्ने साथै व्यक्तित्व निर्माणमा सहयोग पुग्ने गरी सहजीकरण गरिनु पर्छ । टोलस्तरमा अभिभावकको र विद्यालयस्तरमा शिक्षकको अभिभावकत्वमा बाल समूह गठन गरी समूहमा क्षमता विकास गर्ने अवसरसमेत प्रदान गर्दै अतिरिक्त क्रियाकलाप सञ्चालनको जिम्मेवारी प्रदान गर्न सकेमा सशक्त बन्दै हुर्किन्छन्, व्यस्त रहन्छन् अनि गलत कार्य गर्नबाट वञ्चित पनि हुन्छन् ।
नवसर्जकको सिर्जनाले राष्ट्रको पहिचानलाई उँचो बनाउँछ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा अनेक कला, संस्कृति र परम्परा रहेका छन् । स्थानीय तहले तिनको निरन्तरता, संरक्षण, संवर्धन, प्रवर्धन अनि थप सिर्जनात्मक र परिष्कृत बनाउँदै लैजानसमेत नवप्रतिभाको खोजी गर्नु पर्छ । नवप्रतिभा पहिचानसँगै स्थानीय संस्कृतिको जगेर्ना र नयाँ नयाँ सिर्जनाको आविष्कार गर्दै स्थानीय तहले आआफ्नो विशिष्ट पहिचान बनाउँदै जानुपर्ने हुन्छ ।
प्रतिभाको खोजी र पहिचान गरेसँगै सिर्जनाको संरक्षणका लागि स्थानीय तहबाटै विशेष पहलको आवश्यकता रहेको हुन्छ । स्रष्टा, सर्जक वा नवप्रतिभाको सिर्जनाको सुरक्षा गरी त्यसको मूल्य सिर्जना गर्न कानुनी रूपमा नै व्यवस्था गर्न सकेमा अझै प्रभावकारी बन्न पुग्छ । प्रतिभा पहिचान र प्रस्फुटनमा पर्याप्त लगानी र अवसर तथा हौसला प्रदान गर्न सकेमा बढ्दै गएको वैदेशिक पलायनसमेत कम हुने देखिन्छ । नवप्रतिभाको उच्च मनोबल बढाउन समान अवसर, पहुँच, विविधताको सम्मान गर्दै स्थानीय तहले सम्बन्धित क्षेत्रमा उनीहरूको सिर्जनाको उपयोग गर्ने वातावरणको सुनिश्चितता प्रदान गर्नु पर्छ ।